फेवा टेलिभिजनको नवौं साधारण सभा सम्पन्न

-


     पोखरा क्लिक     
     श्रावण २५ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराको फेवा टेलिभिजनको नवौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । टेलिभिजनमा आवद्ध सेयर सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा ज्येष्ठ सेयर सदस्य क्याप्टेन रुप बहादुर गुरुङ रहनु भएको थियो ।

फेवा टेलिभिजनका अध्यक्ष लिला बहादुर जीसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साधारण सभामा संस्थापक अध्यक्ष तेजेन्द्र पौडेल, निर्वतमान अध्यक्ष मिन बहादुर गुरुङ, बोर्ड सदस्यहरू लोकेन्द्र कुमार राई, सागर उदास, रुद्र श्रीस मगरको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बोर्ड सदस्य लोकेन्द्र कुमार राईले राख्नु भएको थियो । उक्त अवसरमा ज्येष्ठ सेयर सदस्य गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गुरुङले फेवा टेलिभिजनको सदस्य भएर लामो समयसम्म रहन पाएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष लिला बहादुर जीसीले फेवा टेलिभिजन लिमिटेडलाई प्रा।लि। मा लैजाने, टेलिभिजनको स्थान स्थानान्तरण गर्ने, नयाँ प्रविधि भित्र्याउने तथा इच्छुक नयाँ सेयर सदस्यका लागि केही समय शेयर खुला गर्ने योजना सार्वजनिक गरे । निर्वतमान अध्यक्ष मिन बहादुर गुरुङले सम्पूर्ण सेयर सदस्य एकजुट भई काम गरे टेलिभिजनले मुनाफा दिन सक्ने विश्वास व्यक्त गर्दै, फेवा टेलिभिजनले आवाज विहीनको आवाज बन्दै समाजमा सकारात्मक सन्देश दिइरहेको बताए ।

सञ्चालक समिति सदस्य रुद्र श्रीस मगरले डिजिटल माध्यमबाट गएको वर्षको प्रतिवेदन, समस्या र समाधानका उपाय तथा प्रस्तावहरू प्रस्तुत गरे । सेयर सदस्य गुणानिधि पाण्डेले सम्पूर्ण सेयर सदस्यको तर्फबाट टेलिभिजनलाई अगाडि बढाउन प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक राजु श्रेष्ठले गरेको स्टेशन म्यानेजर रोजी श्रेष्ठले बताइन् ।