
पोखरा, असार २८,
“जाग्छ पोखरा, दौडाउँछ पोखरा“ भन्ने मूल नारासहित पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।
यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५० रुपैयाँ घाटा भएको प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिए । आइतबार प्रेस विज्ञप्तिमार्फत आयव्यय सार्वजनिक गर्दै संयोजक बरालले केही संघसंस्था तथा सहयोगी निकायले प्रतिबद्धता जनाएको रकम समयमै प्राप्त हुन नसक्दा पहिलो संस्करणमै संस्थाले घाटा व्यहोर्नुपरेको बताए । उनका अनुसार आगामी दिनमा बाँकी सहयोग रकम प्राप्त भएपछि घाटा केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका लागि पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालयबाट ४२ हजार ५ सय रुपैयाँ, पोखरा भ्रमण वर्ष (पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा) बाट ३५ हजार रुपैयाँ, खेलाडी दर्ता शुल्कबाट ६० हजार रुपैयाँ तथा विभिन्न संघसंस्था र सहयोगी निकायबाट आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । त्यसैगरी खर्चतर्फ नगद पुरस्कारमा ५१ हजार रुपैयाँ, प्रचारप्रसार तथा पत्रकार सम्मेलनमा ५५ हजार रुपैयाँ, खाजा तथा खानामा ८१ हजार १ सय रुपैयाँ, प्रवद्र्धनात्मक टी–सर्ट खरिदमा ८४ हजार रुपैयाँ, स्वयंसेवक परिचालनमा ४० हजार रुपैयाँ लगायतका शीर्षकमा रकम खर्च गरिएको उल्लेख गरिएको छ ।
संयोजक बरालले छोटो तयारीका बीच प्रतियोगिता आयोजना गर्दा केही आर्थिक भार व्यहोर्नुपरे पनि पहिलो संस्करणबाटै प्रतियोगिताले पोखराको नयाँ खेलकुद इभेन्टका रूपमा सकारात्मक पहिचान बनाउन सफल भएको दाबी गरे । उनले आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझ व्यवस्थित, भव्य र दिगो रूपमा निरन्तरता दिइने बताए । रातिको समयमा पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुका साथै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा नेपालसहित पाँच देशका १४५ जना धावक सहभागी भएका थिए । पोखरा महानगरपालिका वडा नं. ९ को समन्वय तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगितामा मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर अस्पताल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा सहभागी थिए । यसैगरी पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धकका रूपमा रहेका थिए भने फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन बोर्डिङ स्कुल, हिमश्री फुड्स प्रा.लि.चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, टेम्पल ट्रि रिसोर्ट, समियोग टुरिष्ट रिसोर्ट, पोखरा महानगर पालिका वडा नम्बर ५, ६, ७, ८, ११, पोखरा पर्यटन परिषद, पोखरा उद्योग बाणिज्य संघ, रेवान पोखरा, टान गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरेली ट्याक्सी सेवा प्रा.लि, परिचय एड्भटाइजिङ, कर्माचार्य ग्रुप, साइकल सिटि पोखरा, गल्फर खेलाडी भक्तबहादुर गुरुङ, नाट्टा गण्डकी, नेपाल हवाई खेलकुद संस्था (ना), वेन्जन रेष्टुरेण्ट, गो वन्दी नेपाल लगायतको सहयोग रहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिए ।
प्रतियोगितामा खुलातर्फ दार्चुलाका २९ बर्षीय मुकेश थापा प्रथम भएका थिए भने महिलातर्फ पुष्पा शर्मा लिम्बु प्रथम भइन् । यू–१६ तर्फ राम ढुंगाना र विदेशी तर्फ फ्रान्सका स्याम्यूल प्रथम भएका थिए । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए ।







