
दीननाथ बराल,
पोखरा २९, असार,
पोखरामा फिस्टेल माउन्टेन कलेजले पहिलोपटक साइबर सुरक्षास शिक्षा म्बन्धी स्नातक तहको अध्ययन सुरु गर्ने भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षाको बढ्दो आवश्यकता लक्षित गर्दै बेलायतको युनिभर्सिटी अफ वोल्भरह्याम्प्टन सम्बन्धनमा सञ्चालन हुने यस कार्यक्रमका लागि पहिलो चरणमा ३० जना विद्यार्थी मात्र भर्ना गरिने कलेजले सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा जानकारी गराइएको हो ।
चार वर्षे (आठ सेमेस्टर) स्नातक कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउनेछ । कलेजका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार पूरा कोर्ष अध्ययन गर्न करिब ८ लाख रुपैयाँ खर्च लाग्नेछ । यही विषय बेलायतमै अध्ययन गर्दा नेपाली विद्यार्थीले करिब एक करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने भएकाले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए । बुढाथोकीका अनुसार नेपालमा सन् २०११ देखि साइबर सुरक्षा शिक्षाको औपचारिक अध्यापन सुरु गरिएको हो। हालसम्म देशभर करिब पाँच हजार विद्यार्थी यस क्षेत्रमा उत्पादन भइसकेका छन्। काठमाडौं, विराटनगर लगायत देशका चार स्थानमा सञ्चालन हुँदै आएको यो कार्यक्रम अब पोखरामा पनि विस्तार गरिएको उनले जानकारी दिए । उनले पोखरालाई सूचना प्रविधि तथा साइबर सुरक्षाको उदीयमान केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै यस क्षेत्रमा दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहेको बताए । पोखराबाटै अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि साइबर सुरक्षा, सफ्टवेयर विकास तथा सूचना प्रविधिसम्बन्धी सेवा प्रवाह गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
“विश्वका ठूला कर्पोरेट संस्थाका लागि नेपालमै बसेर सेवा प्रदान गर्न सकिने अवस्था सिर्जना भइरहेको छ । त्यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको प्रमुख आवश्यकता हो,” उनले भने। कार्यक्रमका क्रममा कलेजले भैरव टेक, इनरेड ल्याब्स तथा बेलायतस्थित साइबर युनिभर्ससँग रणनीतिक सहकार्य गरेको घोषणा पनि गरेको छ। यस सहकार्यमार्फत विद्यार्थीले अध्ययनसँगै उद्योगसँग प्रत्यक्ष जोडिने, व्यावहारिक सीप हासिल गर्ने तथा रोजगारीका अवसर प्राप्त गर्ने वातावरण निर्माण हुने विश्वास कलेजले व्यक्त गरेको छ । कार्यक्रममा साइबर सुरक्षा विज्ञहरूले डिजिटल प्रविधिको प्रयोगसँगै साइबर जोखिम पनि तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सुरक्षित इन्टरनेट प्रयोग, व्यक्तिगत विवरणको संरक्षण तथा साइबर सचेतनालाई दैनिक जीवनको अनिवार्य पक्ष बनाउनुपर्नेमा जोड दिएका थिए । कलेजका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), बिग डेटा, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षाजस्ता विषयमा दक्ष जनशक्ति उत्पादन गर्दै पोखरालाई नेपालको प्रमुख सूचना प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।






