पोखरा, ७ साउन,
ट्रेकिङ एजेन्सिज एशाेिशयसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको २ दिने वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम सोमबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा पोखराको वरपिपल रिसोर्टमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा भएको तालिम सोमबार समापन भएको हो ।
काम गरिरहेका पथ प्रदर्शकले पदयात्राका क्रममा भोगेका यावत समस्या समाधान गर्न सिकाउने उद्देश्यले आयोजित तालिममा ९० जनाको सहभागिता रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनु भयो । पथ प्रदर्शकलाई आगामी दिनमा पदयात्रा सुरक्षित बनाउन सघाउदै पद प्रदर्शकका रुपमा काम गरिरहेकाहरुले भोगेका समस्या समाधान कसरी गर्ने भन्ने केन्द्रीत तालिम प्रदान गरिएको उहाँले जनाउनु भयो । अध्यक्ष धर्मराज पन्थीले पथप्रदर्शनका क्रममा आउने व्यवहारिक कठिनाई हटाउने ज्ञान थप्न तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।
तालिम समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तालिमले पथप्रदर्शकलाई थप उत्साहित बनाएको बताउनु भयो । आज ट्रेनिङ दियो ६ महिनापछि ती तालिम लिएकाहरु बजारमा खोज्दा नपाउने स्थिति छ,उनले उहाँले भन्नु भयोे,‘पथ प्रदर्शनमा त्यस्तो अवस्था हुने छैन भन्ने विश्वास गर्छु । यस तालिमले दक्ष जनशक्तिको अभाव मेटाउनेछ ।’ ट्रेकिङका पथप्रदर्शक पर्यटनको ऐना भएको दाबी गर्दै उहाँले पथप्रदर्शकले पर्यटक माथि जस्तो व्यवहार गर्छ, त्यो पर्यटकले आफ्नो देश फर्केर त्यस्तै प्रतिक्रिया जनाउने जनाउनु भयो । पथ प्रदर्शकले राम्रो व्यवहार गर्दा नेपाल आएका पर्यटकले आफ्नो देश फर्केर नेपालको गुणगान गाउले तर नराम्रो व्यवहार गरे बदनाम गर्ने मेयर आचार्यको भनाई थियो । मेयर आचार्यले आत्मर्निभर र व्यावसायिक बन्नका लागि नगरवासीलाई कस्तो तालिम आवश्यक पर्ने उपलब्ध गराउने वचन दिनुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले तालिम पश्चात दक्ष जनशक्तिको अभाव नहुने बताउनु भयो । पोखरा महानगरले १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेकोमा निजी तथा पर्यटन व्यवसायीसंगको सहकार्यमा मात्र उक्त अभियान सफल हुने दाबी गर्नु भयो । पोखरालाई पर्यटनको राजधानी घोषणादेखि अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसम्मका काम भए पछि यसलाई दिगो रुपमा अन्तराष्ट्रिय हवाई उडान हुन नसक्नु पोखरेलीको लागि दुर्भाग्य भएको उहाँले जनाउनु भयो ।
नेपाल पर्यटन वोर्डका पूर्व वोर्ड सदस्य तथा टान गण्डकीका पूर्व अध्यक्ष टीकाराम सापकोटाले ट्रेकिङ रुट नबिगारी थप रुट थप्दै जानुपर्नेमा जोड दिनु भयो । ट्रेकिङका स्वरोजगार कम्पनीलाई राज्यले कर छुट दिनुपर्नेमा माग गर्दै अन्नपूर्ण पदमार्गँमा आउने पयटक हाल विस्थापित हुदै गएकोका उहाँले चिन्क्ता व्यक्त गर्नु भयो । तालिममा पदयात्राका क्रममा वन्यजन्तु भेटिदा अप्नाउनुपर्ने सावधानी, आक्रमण भइहालेमा बच्ने उपाय, आफू वा पाहुना पर्यटक घाइते भएमा गरिने प्राथमिक उपचार, दुर्घटनामा वा वन्यजन्तुको आक्रमणबाट घाइते भएकाको उद्धार तथा पदयात्राको गन्तव्य पहिचानका लागि गरिने नक्साको प्रयोगसँगै हाईअल्टिच्यूड तथा छिनछिनमा हुने मौषम परिवर्तनमा अप्नाउनुपर्ने साबधानीबारे तालिम दिइएको टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराक्लिकलाई बताउनु भयो । पुर्नताजगी तालिम भएकाले पदयात्रामा दशकौंदेखि काम गरिरहेका पथप्रदर्शकहरु सहभागि रहेको उहाँले जनाउनु भयो ।
तालिममा नेभिगेसन र म्याप रिडिङबारे विज्ञ प्रेम गुरुङ, वन्यजन्तु सम्बन्धि एक्यापका आयोजना प्रमुख डा. रवीन कडरिया, उद्धारबारे सशस्त्र प्रहरी बल कालिका गण पोखराका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार शर्मा, प्राथमिक उपचार सम्बन्धि प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत नवराज शर्मा, हाईअल्टिच्यूड तथा मौषम परिवर्तनसँगै अप्नाईनुपर्ने सतर्कताबारे माउण्टेन गाईड तथा सो विषयमा अध्यापनरत जगन तिमिल्सिना, शेषकान्त शर्मा लगायतले सहजीकरण गरेको टान गण्डकीका सचिव तीर्थराज सुवेदीले बताउनु भयो ।