
पोखरा ३०, भदौ
पोखराको सहारा क्लवका मानार्थ सदस्य एवं अग्रज पत्रकार नारायण कार्कीले २ लाख १७ हजार ९ सय ७७ रुपैया रकम बराबरको चेक क्लवलाई हस्तान्तरण गर्नु भएको छ । केही समय अमेरीका पुग्नु भएको उहाँले क्लवको बारेमा जानकारी गरासंगै नेपाली मनहरुको सानो सहयोगबाट उक्त रकम संकलन भएको कार्कीले जनाउनु भयो ।
यसैबिच, यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिएको छ । क्लवको २३ औं साधारण सभा तथा सम्मान समारोहमा गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उनलाई सम्मानपत्रको साथमा दोसल्ला एवं नगद २५ हजार सहयोग प्रदान गरी सम्मान गर्नु भएको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध शर्माले भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार लगायत दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
छनोट समिति सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्व अध्यक्ष केशव बहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेन सदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी रहनु भएको थियो ।
यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापालाई प्रदान गरिएको छ । थापा क्लबमा २ कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गर्नु भएको थियो । सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य समेत हुनुहुन्छ । क्लवका महासचिव रामजी प्रसाद अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य रहनु भएको थियो । साथै क्लवले १४ जिल्लाका हाल ३० जना बालकहरुलाई सहारा एकेडेमीमा पालन पोषण सहित फुटवल एकेडेमीमा राखेको बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताउनु भयो । कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखराको खेलकुद र सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो । खेलकुद र शिक्षालाई सन्तुलन मिलायर अघि बढाउन युवा पुस्तालाई उनले सुझाव दिनु भयो ।
हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश केसीले सहारा क्लवको अभियानमा आफुहरुले साथ दिने बताउनु भयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु सहित विभिन्न संघ संस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा पोखराको सहारा क्लवले ५१ ह्जार रुपैया आर्थिक सहयोग गरेको छ । सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त रकम बराबरको चेक मञ्चलाई हस्तान्तरण गरेको हो । उक्त समारोहका प्रमुख अतिथी गण्डकी प्रदेशको समाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नु भएको हो ।
यस अघि मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, पूर्व सल्लाहकार एवं अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितले २५ हजार, अध्यक्ष दीननाथ बरालले १० हजार रुपैया सहयोग गर्नु भएको छ । मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ । बराल नेतृत्व टिमले आफ्नो कार्यकालमा करिब १० लाखको अक्षयकोष स्थापना गर्ने बताउदै आएको छ । हालसम्म उक्त कोषमा व्याज सहित एक लाख रुपैया जम्मा भएको मञ्चले जनाएको छ ।




