
दीननाथ बराल,
पोखरा १२, असार,
असार १५ गते राष्ट्रिय धान दिवस । यस अवसरमा पोखराका विभिन्न ठाँउमा फरक फरक ढंगले यो दिवस मनाइएको छ ।
पोखरा पर्यटन परिषदले विदेशी पर्यटकहरुलाई आकर्षण गरी कृषि क्षेत्रको प्रबद्र्धन गर्न यस बर्ष पोखराको फेवाफाँट मार्गीमा १९ औं संस्करणको रोपाई महोत्सव आयोजना गर्यो भने पोखराको सडकै धान रोपेर पोखरामा बिरोध समेत प्रदर्शन गरिएको छ ।

विदेशी पर्यटकहरु १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ म हिलो खेल्दै रमाउनु भएको छ । पोखरा २३ को फेवाफाँटमा परिषदको आयोजनामा कृषि क्षेत्रको प्रबर्द्धन सहित पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने उद्वेश्यले आयोजित महोत्सवमा विदेशी पर्यटकहरु हिलोमा विभिन्न खेलकुद कार्यक्रममा सहभागि हुदै हिलो खेल्दै रमाएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

“पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ “रोपाई महोत्सव“ विगतका बर्ष देखि पोखरा क्षेत्रका विभिन्न स्थानहरुमा उक्त महोत्सव आयोजना गर्ने क्रममा यस बर्ष फेवाफाँटमा उक्त महोत्सव आयोजना गरिएकोे परिषदका अध्यक्ष श्रेष्ठले जनाउनु भयो । खेतियोग्य जमिनलाई संरक्षण गरि बाजो जग्गामा खेति गर्न प्रोत्साहन गर्न उक्त महोत्सवले सहयोग पुग्ने उहाँले बताउनु भयो । पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशा प्रति उत्प्रेरित गर्नका साथै असार १५ का दिन “हिलोमा एक पटक त टेक्न् पर्छ है“ भन्ने भनाइलाई समेत जीवन्त तुल्याउने अभिप्रायले उक्त महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले जनाउनु भयो ।

यसैबिच, उक्त महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । फेवातालको शिरान भागमा भएको उक्त महोत्सवमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश र नेपालको उत्पादन र उत्पादकत्व बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले फेवाताल संरक्षणमा आफुहरु कटिवद्ध भएको बताउनु भयो । प्रदेश सांसद प्रकाश बरालले पोखराको फेवाताल सहित भ्यू फेवा राउण्ड फेवा परियोजनाले पोखराको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनिय सहभागिता रहेको परिषदका महासचिव सञ्जयकान्त सिग्देलले बताउनु भयो । हिलोमा भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड, पत्रकार तर्फको हिले दौड, रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता भएको महोत्सव संयोजक तारानाथ पहारीले बताउनु भयो । महोत्सवमा सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो ।

भलिवल तर्फ ६ टिम सहभागि भएकोमा ठुलाखेतको समुह प्रथम भएको खेल संयोजक हरिराम अधिकारीले बताउनु भयो । शनिबार भएको फाइनल खेलमा ठुलाखेतले भकुण्डेको समुहलाई पराजित गर्दै उपाधि सहित १२ हजार पुरस्कार प्राप्त गर्दा दोश्रो भएको ठुला खेतले भने ६ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रांप्त गरेको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।

नेपाली ख्याती प्राप्त राष्ट्रिय कलाकार समिक्षा अधिकारी, प्रजापति पराजुली, निर्जला गुरुङ्ग, बालकाशी गुरुङ्ग लगायतको प्रस्तुती भएकोे महासचिव सिग्देलले बताउनु भयो ।स्थानीय देविलाल लामिछानेले फेवाफाँटमा उत्पादन हुने जेठोबुढो धान उत्पादनमा कमी हुँदै आएको गुनासो गर्नु भयो । परिषद तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका वडा नं २३ मार्गी. बगर टोल विकाश संस्था रहेका छन। कार्यक्रमको प्रवर्द्धकक रूपमा गण्डकी प्रदेश सरकार नेपाल पर्यटन बोर्ड तथा पोखरा महानगरपालिका रहेका छन् ।

यसैबिच पोखराका हेमजा, पार्दीविरौटा, लेखनाथ लगायतका क्षेत्रमा यस बर्ष धुमधामका सान रोपाई महोत्सव मनाइएको छ ।
अधिकांश क्षेत्रमा रोपाई महोत्सव खेतमा धान रोपेर मनाएको सन्र्दभमा पोखराको हेमजा र सिम्पानीका स्थानीयले राष्ट्रिय धान दिवसको अवसरमा राजमार्गमै धान रोप्नु भएको हो । मध्य पहाडी लोक मार्गमा पर्ने करिब किलोमिटर सडक विगत ३ बर्ष देखि निर्माण कार्य अतिनै ढिला सुस्तीले सास्ती भोग्नु परेको भन्दै स्थानियले सडकमा बिरोध जनाउदै धान रोप्नु भएको हो ।

निर्माणमा ढिलासुस्ती गरेपछि विरोधस्वरुप धान रोप्दै, असारे भाका र भजनकृतन समेत गरिएको स्थानीय विजय त्रिपाठीले बताउनु भयो । आफुहरुले पटक पटक ठेकेदार कम्पनीलाई उक्त सडक छिटो बनाउन माग गर्दै आउदा खासै सुनुवाई नभएकोले अबको आन्दोलन थप शसक्त्त हुने उनले चेतावनी दिए । अब आन्दोलन हुदा त्यसबाट हुने क्षेतीको जिम्मा ठेकेदार कम्पनीले लिनुपर्ने उनको भनाई छ ।


पर्यटक हिलोमा रमाउदै भिडियो सहित ।