
पोखरा, १० असार,
होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ । पर्यटन क्षेत्रसँग लामो समयदेखि आबद्ध खनालको अचानक मस्तिष्कघातबाट उपचार गर्ने क्रममा निधन भएको संघले जनाएको छ ।
गोरखाको आरुघाट स्थायी घर भएका ४१ वर्षीय खनाल जाऔँ है पोखरा अभियानका क्रममा पाल्पा पुगेका बेला आइतबार अचानक मस्तिष्कघातबाट गम्भीर बिरामी हुनु भएको थियो । उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिए पनि उपचारकै क्रममा बुधबार उहाँको निधन भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । होटल संघ पोखरा नेपालले आज (बुधबार) शोक विज्ञप्ति जारी गर्दै खनालको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै संस्थालाई स्तब्ध, मर्माहत र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। संस्थाले कर्तव्यनिष्ठ, मेहनती र सबैसँग आत्मीय सम्बन्ध कायम गर्न सक्ने व्यक्तित्वका रूपमा खनाल रहेको स्मरण गरेको छ ।
संघले दिवंगत खनालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना समेत गरेको छ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । खनालका श्रीमती र एक छोरी छन्। उहाँको असामयिक निधनले परिवार मात्र होइन, पोखराको पर्यटन तथा होटल क्षेत्रले एक इमानदार, मिलनसार र कर्मशील सहयात्री गुमाएको संघले जनाएको छ । पर्यटन प्रवर्द्धनका विविध गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खनालको निधनले पोखराका पर्यटन क्षेत्रमा अपूर्ण क्षति भएको व्यवसायीहरुले बताएका छन् ।





