पोखरा २२, पुष
पोखरामा दुई युवतीको मृत्यु हुने गरी कार दुर्घटनामा परेका मान बहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत मंसिर २४ गते पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक अर्घौं निवासी बानियाँ पुर्पक्षका लागि कारागार चलान भएको कास्की प्रहरीले जनाएको छ ।
सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त घटनामा डिल्लीराम बरालसमेतले कार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए ।
गण्डकी मेडिकल कलेजमा अध्ययनरत् पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा २२ स्थायी घर भई हाल पोखरा ५, जिरो किलोमिटर की २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो ।
यसैबीच, उक्त मुद्दामा आइतबार अदालतमा थुनछेक बहस हुने थाहा पाएपछि मृतकका आफन्तहरुले उक्त कार चालकलाई कडा कार्वाहीको माग गर्दै अदालत अगाडी नाराबाजी गरेका थिए ।