
दीननाथ बराल,
पोखरा १०, असार,
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु। ६५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष चन्द्रकला अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन् ।

गाउँपालिकाले “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” भन्ने दीर्घकालीन सोचलाई आधार मानेर बजेट निर्माण गरेको छ। कुल बजेटमध्ये चालु र पूँजीगत दुवै खर्च समेटिएको छ, जसमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आय र गत वर्षको मौज्दात प्रमुख स्रोतका रूपमा रहेका छन्। बजेटमा सडक पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ। सबै वडालाई मध्यपहाडी लोकमार्गसँग जोड्ने, चक्रपथ निर्माण गर्ने तथा ग्रामीण सडक स्तरोन्नति गर्न मात्र करिब रु। ११ करोड २६ लाख भन्दा बढी विनियोजन गरिएको छ। त्यस्तै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक भवन निर्माणका लागि समेत रकम छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित अनुदान, बीमा, जैविक मल प्रवर्द्धन, पकेट क्षेत्र विकास र कृषक प्रशिक्षण कार्यक्रमलाई विस्तार गरिएको छ। दूध, चल्ला तथा पशुपालनमा अनुदानमार्फत उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य लिइएको छ।

स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजना अघि सारिएको छ। गाउँपालिकाले स्वास्थ्य बीमा प्रिमियम १०० प्रतिशत पुर्याउने निर्णय गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने घोषणा गरेको छ। साथै आधारभूत अस्पताल तथा स्वास्थ्य चौकीहरूमा ल्याब सेवा विस्तार गरिनेछ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय सुदृढीकरण, शिक्षक तलब वृद्धि, विद्यार्थी छात्रावास सहयोग, दिवा खाजा कार्यक्रम विस्तार तथा एसईई नतिजा सुधार गर्ने विद्यालयलाई प्रोत्साहन अनुदान दिने व्यवस्था गरिएको छ। पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण क्षेत्रका महोत्सव, होमस्टे विकास, पदमार्ग सुधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई बजेटमा प्राथमिकता दिइएको छ। त्यस्तै, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू पनि विस्तार गरिएको छ। विपद् व्यवस्थापनका लागि छुट्टै कोषमा रकम विनियोजन गरिएको छ भने फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण र सरसफाइ कार्यक्रमलाई पनि सुदृढ बनाइने भएको छ। गाउँपालिकाले सुशासन, प्रविधिमैत्री सेवा, पारदर्शिता र नागरिक सेवा प्रवाह सुधारलाई पनि बजेटको महत्वपूर्ण अंगका रूपमा अघि सारेको छ।

समग्रमा अन्नपूर्ण गाउँपालिकाको यो बजेटले कृषि, पर्यटन र पूर्वाधारलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै “समृद्ध अन्नपूर्ण, सुखी अन्नपूर्णबासी” लक्ष्य हासिल गर्ने अपेक्षा लिएको छ। यस अघि पालिका अध्यक्ष बिष्णुबहादुर के.सी.ले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरेका थिए । बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधारलाई प्रथामिकता दिइएको प्रमुख प्रशासकिय अधिकृत चिरन्जिबी बरालले बताउनु भयो । उपाध्यक्ष अधिकारीेले प्रस्तुत गर्नु भएको बजेट जस्ताको तस्तै ।





