लेकसाइडको श्रीकृष्ण मारवाडी भोजनालयलाई ५० हजार जरिवाना

-


     पोखरा क्लिक     
     असार १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १५ असार,

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित श्रीकृष्ण मारवाडी भोजनालयलाई ५० हजार जरिवाना गरिएको छ । बजार अनुगमनका क्रममा उक्त भोजनालयमा सरसफाइमा लापरवाही, लेबल नभएका खाद्य सामग्री बिक्री–वितरण तथा केही म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि पहिलो पटक सम्झाइबुझाइ गर्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ ।

उपभोक्ताको गुनासोका आधारमा श्रीकृष्ण मारवाडी भोजनालय मा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा सोमबार बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा खाद्य सामग्रीको गुणस्तर, सरसफाइ, मूल्यसूची, लेबल, म्याद तथा कानुनी प्रावधानको पालना भए–नभएको विषयमा निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो । पर्यटकीय क्षेत्रमा गुणस्तरहिन खाद्य पदार्थ बिक्रि हुनुले समग्र पोखरा सहित नेपालको समेत बदनाम हुने हुदा यस बिषयमा संचालकलाई पहिलो चरणमा ५० हजार जरीवाना सहित सम्झाई बुझाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले पोखराक्लिकलाई जनाउनु भयो ।

यसै क्रममा पोखरा–११ मणिपाल शिक्षण अस्पताल परिसरमा रहेको क्यान्टिन न्यूट्री किचन प्रा.लि. र सर्वगण फुड्स एण्ड किचन पा.लि.को पसलमा समेत अनुगमन गरिएको थियो । निरीक्षणका क्रममा लेबल नभएका खाद्य सामग्री बिक्रीका लागि राखिएको, उत्पादन तथा उपभोग मिति स्पष्ट उल्लेख नभएको, मूल्यसूची सर्वसाधारणले देख्ने गरी नराखिएको तथा केही अन्य सुधार गर्नुपर्ने अवस्था भेटिएको अनुगमन टोलीले जनाएको छ । टोलीले तत्काल लेबलविहीन खाद्य सामग्री बिक्री–वितरण नगर्न, उत्पादन तथा उपभोग मिति स्पष्ट उल्लेख भएका सामग्री मात्र बिक्री गर्न, मूल्यसूची सबैले देख्ने स्थानमा राख्न तथा सम्बन्धित कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । पुनः अनुगमन गर्दा निर्देशन पालना नभए प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

त्यसैगरी अनुगमन टोलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) तथा मणिपाल शिक्षण अस्पताल का क्यान्टिनहरूमा पनि अनुगमन गरेको थियो । अधिकांश स्थानमा लेबल नभएका खाद्य सामग्री बिक्री–वितरण भइरहेको भेटिएकाले त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको टोलीले जनाएको छ । बजार अनुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य अनुसन्धान अधिकृत दीपक कुंवर, पोखरा महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज चौलागाईं, जनस्वास्थ्य निरीक्षक विष्णुराज घिमिरे, जिल्ला प्रशासन कार्यालय कास्कीका नायब सुब्बा नवीनप्रसाद अधिकारी, वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक निरीक्षक पुनित हजारा, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल तथा पत्रकारको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने होटल, रेष्टुरेन्ट, क्यान्टिन तथा खाद्य व्यवसायमा बजार अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी र निरन्तर बनाइने जनाएको छ ।