काठमाडौं विश्वविद्यालयको बिआईटि कोर्ष अब पोखराको प्रतिभा बिजनेस स्कुलमा सञ्चालन हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार १६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १६ असार,

काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालन हुँदै आएको सूचना प्रविधिमा स्नातक (बिआईटी) कोर्ष कार्यक्रम अब पोखराको प्रतिभा बिजनेस स्कुल मा सञ्चालन हुने भएको छ । विद्यालयले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आगामी शैक्षिक सत्रदेखि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य रवि प्रसाद बराल ले सूचना प्रविधिसँगै उद्यमशीलता, नैतिकता र नेतृत्व विकासलाई जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई केवल डिग्री हासिल गराउने नभई उद्योग, व्यवसाय तथा रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्ने वातावरण निर्माण गरिने उल्लेख गर्नुभयो । प्राचार्य बरालले भन्नुभयो, “अब हाम्रो शिक्षालाई विज्ञान–प्रविधिसँगै उद्यमशीलता र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहुँच हुने गरी विकास गर्नुपर्छ । हामी विद्यार्थीलाई उत्कृष्ट भविष्य निर्माण गर्न आवश्यक आधुनिक प्रविधि, व्यावहारिक सीप र नैतिक शिक्षा प्रदान गर्नेछौं।” लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा काम गरेको अनुभवका आधारमा पोखरामै अन्तर्राष्ट्रिय स्तरको आईटी शिक्षा उपलब्ध गराउने उद्देश्यले बिआईटि कोर्ष (कार्यक्रम) सञ्चालनमा ल्याइएको बरालले जनाउनु भयो ।

विद्यालयका अध्यक्ष नारायण प्रसाद पौडेलले पोखरालाई सूचना प्रविधिमैत्री तथा स्मार्ट सहर बनाउने अभियानमा विद्यालयले आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो । गण्डकी प्रदेशमै दक्ष र प्रतिस्पर्धी सूचना प्रविधि जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नयाँ कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख गर्दै उहाँले “पढ्दै कमाउँदै” अभियानलाई समेत यस कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, प्रतिभा फाउन्डेसनका निर्देशक किरण सापकोटा ले समयको मागअनुसार काठमाडौं विश्वविद्यालयमा सफलतापूर्वक सञ्चालन हुँदै आएको बिआईटि कार्यक्रम अब पोखराका विद्यार्थीका लागि उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो। विद्यालयले भविष्यमा करिब २०० जना विद्यार्थी अध्ययन गर्न सक्ने पूर्वाधार तयार गर्न सक्ने भए पनि विश्वविद्यालयको मापदण्डअनुसार पहिलो चरणमा ३० जना विद्यार्थीलाई मात्र भर्ना गरिने उहाँले बताउनुभयो।

विद्यालयका अनुसार बिआईटि कार्यक्रम अन्तर्गत विद्यार्थीले सफ्टवेयर इन्जिनियरिङ, फुल स्ट्याक विकास, साइबर सुरक्षा, डाटा विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स, नेटवर्क इन्जिनियरिङ, क्लाउड कम्प्युटिङ, मोबाइल लगायतको प्रयोग गर्नेछन् । साथै परियोजनामूलक सिकाइ, प्रयोगात्मक कक्षा, उद्योगसँगको सहकार्य, अनुसन्धान, इन्टर्नशिप तथा करियर काउन्सेलिङमार्फत विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रका लागि तयार पारिने जनाइएको छ ।विद्यालयले अब गण्डकी प्रदेश तथा आसपासका विद्यार्थीले काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गर्दै पोखराबाटै काठमाडौं विश्वविद्यालयको गुणस्तरीय सूचना प्रविधि शिक्षा अध्ययन गर्न सकिने वातावरण सिर्जना भएको जनाएको छ । यस पहलले पोखरालाई सूचना प्रविधि, नवप्रवर्तन र उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा विद्यालयको रहेको छ ।

भर्ना प्रक्रिया काठमाडौं विश्वविद्यालयको प्रवेश प्रणालीअनुसार हुनेछ। विश्वविद्यालयले तोकेको समयअनुसार जुन १९ देखि जुलाई ९ सम्म अनलाइन प्रवेश परीक्षा फाराम खुला रहने छ । पहिलो सेमेस्टरमा ३० जना विद्यार्थीले मात्र भर्ना पाउने व्यवस्था गरिएको छ । विद्यालयका अनुसार आठ सेमेस्टर पूरा गर्न कुल रु. ९ लाख ६० हजार शुल्क लाग्नेछ। भर्ना हुँदा कुल शुल्कको २५ प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने व्यवस्था गरिएको बिद्यालयले पोखराक्लिकलाई जनाएको छ ।



This will close in 20 seconds