
पोखरा, १७ असार,
पोखरा–१६ निवासी स्वर्गीय सोना रानाको दशौं स्मृति दिवसका अवसरमा परिवारले मानव सेवालाई प्राथमिकता दिँदै पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितहरूका लागि बिहानको भोजन दान गरेको छ । स्वर्गीय रानाको स्मृतिलाई औपचारिक कार्यक्रमभन्दा सेवामूलक कार्यमार्फत जीवन्त राख्ने उद्देश्यले आयोजित कार्यक्रममा आश्रममा आश्रित १२ बालिकासहित ९० जना महिलालाई भोजन गराइएको थियो।
स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय रानाको राजनीतिक, सामाजिक तथा पारिवारिक योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले समाजसेवा, मानवीय भावना र सामाजिक उत्तरदायित्वप्रति उनको समर्पण आज पनि परिवार र समाजका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरे। कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले स्वर्गीय रानाले समाजमा स्थापित गरेका सेवा, इमानदारी र समर्पणका मूल्यहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले रानाको जीवन केवल राजनीतिक यात्रामा सीमित नभई सामाजिक सेवासँग गहिरोसँग जोडिएको उल्लेख गर्दै परिवारले पनि त्यही आदर्शलाई निरन्तरता दिएको बताए।
कार्यक्रममा स्वर्गीय सोना रानाकी बहिनी सबिना रानाले जीवनी प्रस्तुत गर्दै बाल्यकालदेखि राजनीतिक, सामाजिक तथा पारिवारिक जीवनका विभिन्न पक्षबारे प्रकाश पारिन्। उनले संघर्ष, इमानदारी र सेवाभावले भरिएको रानाको जीवन समाजका विपन्न, असहाय तथा पछाडि पारिएका समुदायको हितमा समर्पित रहेको बताइन्। उनका आदर्श, विचार र मानवीय मूल्यले परिवारका साथै समाजलाई निरन्तर प्रेरणा दिइरहेको उनको भनाइ थियो।
परिवारका सदस्य, आफन्त, राजनीतिकर्मी, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको कार्यक्रममा स्वर्गीय रानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरिएको थियो। सहभागीहरूले स्मृति दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मानव सेवा आश्रममा भोजन दान गरिएको कार्य अनुकरणीय भएको प्रतिक्रिया दिएका थिए। परिवारका सदस्यहरूले स्वर्गीय रानाले जीवनभर आत्मसात् गरेका सेवा, त्याग र मानवीय मूल्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई नियमित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन कान्छी बहिनी ज्योति रानाले गरेकी थिइन् भने धन्यवाद ज्ञापन माइली बहिनी सञ्जिता तामाङले गरेकी थिइन्।







