
दीननाथ बराल,
पोखरा, १७ असार,
पोखराबाट उत्पादन भई देशभर बिक्री वितरण हुँदै आएको हटपट चाउचाउको एउटा ब्याच ललितपुरस्थित भाटभटेनी सुपरमार्केटमा गुणस्तर मापदण्डभन्दा कम भेटिएपछि उत्पादक कम्पनी पोखरा नुडल्स प्रालिलाई जिल्ला प्रशासन कार्यालय कास्कीले कारबाही गरेको छ । बजार अनुगमनका क्रममा करिब एक वर्षअघि भाटभटेनी सुपरमार्केटबाट संकलन गरिएको सन् २०२४ मा उत्पादन भएको हटपट चाउचाउको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नभएको पुष्टि भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको निर्णयअनुसार कम्पनीबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ।
प्रशासनका अनुसार खाद्य परीक्षण प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा हटपट चाउचाउमा एक्स्ट्र्याक्टेड फ्याटको मात्रा नेपालमा तोकिएको मापदण्डअनुसार १ हुनुपर्नेमा १.६ भेटिएको थियो। सोही प्रतिवेदनका आधारमा खाद्य सम्बन्धी प्रचलित कानुनअनुसार कारबाही गरिएको प्रसासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गुरुङले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्यवस्तुमा गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने भन्दै कानुनले तोकेको मापदण्ड पालना गराउनु राज्यको दायित्व भएको बताए। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले खाद्य उद्योगहरूले उत्पादनदेखि बिक्रीसम्म प्रत्येक चरणमा गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । “उपभोक्ताले खरिद गर्ने खाद्यवस्तु सुरक्षित र गुणस्तरीय हुनु उद्योगको दायित्व हो। मापदण्ड उल्लंघन भए कानुनबमोजिम कारबाही हुन्छ” उनले भने।
यता, पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले कम्पनीले उत्पादनअघि र उत्पादनपछि नियमित गुणस्तर परीक्षण गर्दै आएको बताउँदै उद्योगबाट बजारसम्म पुग्ने क्रममा भण्डारण (स्टोरेज) अवस्था उपयुक्त नभए केही गुणस्तरीय सूचकमा परिवर्तन आउन सक्ने धारणा राखे।उनका अनुसार हटपट चाउचाउको प्याकेटमै प्रत्यक्ष घाम तथा अत्यधिक चिसोबाट टाढा, सुख्खा स्थानमा भण्डारण गर्नुपर्ने स्पष्ट निर्देशन उल्लेख गरिएको छ। ूहामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं। उत्पादन प्रक्रियामा निरन्तर परीक्षण गरिरहेका हुन्छौं। वितरण र भण्डारणको अवस्थाले पनि केही गुणस्तरीय सूचकमा प्रभाव पार्न सक्छ,ू अध्यक्ष पाण्डेले बताए। खाद्य गुणस्तरका जानकारहरूका अनुसार इन्स्ट्यान्ट नुडल्समा प्रयोग हुने तेल तथा बोसोको गुणस्तर लामो समयसम्म उच्च तापक्रम वा अनुपयुक्त भण्डारणमा राख्दा परिवर्तन हुन सक्छ। त्यसैले उत्पादनमात्र नभई ढुवानी, गोदाम र बिक्री केन्द्रसम्म उचित भण्डारण व्यवस्था पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
हटपट चाउचाउ , पोखरा नुडल्स प्रालिले केही वर्षअघि नेपाली बजारमा कोरियन शैलीबाट प्रेरित हटपट ब्रान्डका प्रिमियम इन्स्ट्यान्ट नुडल्स बिक्रि वितरण गर्दै आएको छ । कम्पनीले सुरुमा हटपट चिकेन गोरमेट स्पाइसी सुपी नुडल्स र हटपट टु एक्स स्पाइसी संस्करण बजारमा ल्याएको थियो। पहिलो संस्करण झोल बनाएर खाने तथा दोस्रो संस्करण मसला मिसाएर सुख्खा रूपमा खाने शैलीको नुडल्स हो। उपभोक्ताको फरक स्वादको रोजाइलाई लक्षित गर्दै कम्पनीले यो उत्पादन विकास गरेको जनाएको थियो। २०४८ सालमा स्थापना भएको पोखरा नुडल्स प्रालिले २०५१÷५२ सालदेखि उत्पादन सुरु गरेको हो। कम्पनीका रम्बा, बोनस र जोजो नेपाली बजारका परिचित ब्रान्ड हुन्। पछिल्ला वर्षहरूमा कम्पनीले हटपट सिरिजमार्फत प्रिमियम नुडल्स बजार विस्तार गर्ने योजना अघि बढाएको थियो। प्रशासनले भने यस घटनालाई सबै खाद्य उद्योगका लागि चेतावनीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उत्पादनदेखि उपभोक्तासम्म पुग्ने सम्पूर्ण आपूर्ति शृङ्खलामा गुणस्तर मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।







