
दीननाथ बराल,
पोखरा, १७ असार
यामाहा कम्पनीको ७१ औँ वार्षिकोत्सव (यामाहा डे सेलिब्रेसन) को अवसरमा पोखरामा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन गरिएको छ। पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताले सहभागिता जनाएका थिए। जसमध्ये २० जना पहिलो पटक रक्तदान गर्ने रहेका छन्।

कार्यक्रम यामाहा मोटरसाइकल तथा स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता तथा एम.ए.डब्लु राइजेसका पोखरास्थित अधिकृत विक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि., पोखरा–०९ नयाँबजार द्वारा आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय समुदाय, ग्राहक तथा शुभेच्छुको उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भ प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसीले पहिलो रक्तदाता विद्या कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए। कम्पनीका प्रबन्ध निर्देशक सरोज श्रेष्ठका अनुसार यामाहाको वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदायप्रति योगदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उनले पोखरामा देखिएको रगत अभावलाई केही हदसम्म भए पनि सहज बनाउन र रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न कार्यक्रम उपयोगी भएको बताए। कार्यक्रममा युवा उद्यमी मञ्चका अध्यक्ष सरोज कायस्थ, लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष बाबुराम क्षेत्रीलगायत उद्योगी, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमका अवसरमा बोल्दै कम्पनीका सिनियर म्यानेजर भगवान बिजुक्छेले यामाहाले व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा जनहितका कार्यक्रम निरन्तर गर्दै आएको बताए। नेपाल रेडक्रस सोसाइटी, कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रमले आपतकालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।







