
पोखरा, असार १७,
पोखराका अग्रज पत्रकार, लेखक तथा समाजसेवी केशवराज पराजुलीको गएराति करिब १२ः०० बजे निधन भएको छ । लामो समयदेखि पत्रकारिता, सामाजिक सेवा तथा प्रेस स्वतन्त्रताको पक्षमा सक्रिय रहँदै आएका पराजुलीको मंगलबार राति १२ बजे उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
उहाँको निधनले पोखराको सञ्चार, सामाजिक तथा बौद्धिक क्षेत्रमा गहिरो शोक परेको छ । अग्रज पत्रकार पराजुलीको पार्थिव शरीरको अन्तिम संस्कारका लागि आज बिहान करिब ८ः३० बजे तुलसीघाट लगिने कार्यक्रम तय गरिएको उहाँका आफन्तले जनाउनु भएको छ ।
पराजुलीले पोखराको पत्रकारिताको विकास, निष्पक्ष समाचार सम्प्रेषण तथा प्रेस स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । पत्रकारितामार्फत समाजका विविध मुद्दालाई उजागर गर्नुका साथै सामाजिक उत्तरदायित्वका विभिन्न अभियानमा समेत उहाँ सक्रिय रहनुभएको थियो। पोखरेली पत्रकारिताका अध्येता तथा लेखकका रूपमा समेत उहाँको विशिष्ट पहिचान रहेको थियो।
प्रजातान्त्रिक आन्दोलन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उहाँले पुर्याएको योगदानको सम्मानस्वरूप विभिन्न संघ–संस्था तथा निकायबाट उहाँ सम्मानित हुनुभएको थियो। यसअघि पोखरा महानगरपालिकाले उहाँलाई ‘पोखरेली नवरत्न सम्मान’ प्रदान गरेको थियो।
उहाँको निधनप्रति पत्रकार, सामाजिक अगुवा, विभिन्न संघ–संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै यसलाई पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
यसैबीच, उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न व्यक्तित्व तथा संस्थाहरूले शोक वक्तव्य जारी गरेका छन्। उनीहरूले वरिष्ठ पत्रकार तथा समाजसेवी पराजुलीको असामयिक निधनले आफूहरू मर्माहत भएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गरेका छन्।







