
दीननाथ बराल,
पोखरा, १४ असार,
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रस्तावित. ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आज (आइतबार) बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले असार १ गते प्रस्तुत गरेको विनियोजन विधेयक तथा मन्त्रालयगत बजेटमाथिको छलफल टुंग्याउँदै बहुमतका आधारमा बजेट पारित गरेको हो ।
बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरू तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएपछि सभामुख कृष्णप्रसाद धितालले बजेट बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । बजेट पारित हुनुअघि मुख्यमन्त्री पाण्डेले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा स्रोतको व्यवस्थापन गर्दै बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने विगतको प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोगमार्फत विकासका लक्ष्य हासिल गरिने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु. १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार, पूँजीगततर्फ रु. २० अर्ब २ करोड ६१ लाख २२ हजार तथा वित्तीय व्यवस्थातर्फ रु. २५ करोड विनियोजन गरिएको छ । बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, ऊर्जा, खानेपानी, कृषि, सामाजिक क्षेत्र तथा सेवा प्रवाह सुधारलाई उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य क्षेत्रमा रु. ३ अर्ब ३१ करोड, भौतिक पूर्वाधार विकासमा रु. ११ अर्ब ६६ करोड तथा ऊर्जा तथा जलस्रोत क्षेत्रमा रु. ४ अर्ब ७७ करोड विनियोजन गरिएको छ। प्रदेश सरकारले आगामी वर्षलाई “उज्यालो प्रदेश“ अभियानका रूपमा अघि बढाउने लक्ष्यसमेत लिएको छ ।
यसैगरी, खानेपानीका लागि १ अर्ब ७ करोड, बहुवर्षीय योजनाका लागि ५ अर्ब ३ करोड, प्रदेश विपद् व्यवस्थापन कोषका लागि रु. १० करोड तथा सडक, पुल र वेल्ली ब्रिज निर्माणलगायत पूर्वाधार विकास कार्यक्रमलाई पनि बजेटमार्फत प्राथमिकता दिइएको छ । प्रदेश सरकारले आन्तरिक राजस्वबाट रु. ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार संकलन गर्ने लक्ष्य राखेको छ भने आवश्यक स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋण परिचालन गर्ने योजना पनि बजेटमा समेटिएको छ । यसैबिच, प्रदेश सभा बैठक यही असार २४ गते १ बजे बस्ने भएको प्रदेश सभाले जनाएको छ ।





