वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुदै ः

-


     पोखरा क्लिक     
     वैशाख १३ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका वडा नं. ७ मा वडा नं. ७ स्तरिय वृहत दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि आऔं सँगै दौडौं भन्ने नाराका साथ वैशाख २२ गते शनिबार दौड प्रतियोगिता हुने भएको हो । पोखरा ७ का सम्पुर्ण सामाजिक संघ सस्थालाई जागरुक गराइ सामाजिक जागरण र आपसी एकता वृद्घीका लागि पोखरा ७ स्तरीय दौड प्रतियोगिता मुल आयोजक समिति गठन गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला, २२ वर्ष मुनिको र ५० वर्ष माथिको गरि ४ विधामा संचालन हुने समितिका संयोजक रविश्वर आचार्यले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. ७ मा रहेका आमा समुह, महिला तथा युवा क्लब, टोल विकास संस्था लगाएत विभिन्न संघ सस्था संग वडा कार्यालयमा बसेको छलफलमा वडा अध्यक्ष राममोहन आचार्यले सबै संघ संस्था सकृय र जागरुक भएर प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्नुपर्ने बताउदै वडाको तर्फबाट भरपुर साथ र सहयोग रहने बताउनु भयो ।

समाजसेवी एवम श्री कृष्ण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा चन्द्र बरालले वडाको पहिचान र गरिमालाई बढाउने कार्य सुरु भएको बताउदै सबैलाई प्रतियोगितामा भाग लिन आग्रह गर्नुभयो । सामाजिक अगुवा एवम पोखरा ७ का पुर्व जनप्रतिनिधि किशोर बरालले सबै संघसंस्थाहरुले आ आफ्नो स्थानबाट सहयोग गरेर प्रतियोगितालाई सफल बनाउनु पर्ने बताउनु भयो । उहाँले पोखरा वडा नं. ७ मा रहेका सबै सघं सस्थाको साझा कार्यक्रम भएकाले सकृयता पुर्वक सबै लाग्न आग्रह गर्नुभयो ।

समितिका कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदीले प्रतियोगिता सम्पन्न गर्न २ लाख खर्चको अनुमान गरिएको बताउनुभयो । सह कोषाध्यक्ष दामोदर बरालले रुटको बारेमा जानकारी दिदै आमा समुह तथा क्लबहरुलाई प्रतियोगीहरुलाई स्वागत, हौषला प्रदान गर्न तयार रहन आग्रह गर्नुभयो । उहाँले पोखरा ७ र आसपासका शैक्षिक संस्था र अन्य संघ संस्थाहरुबाट पनि आर्थिक सहयोगको अपेक्षा गर्नुभयो ।

खुल्ला पुरुष , खुल्ला महिलामा तथा ५० वर्ष माथिको दौड प्रतियोगितामा भाग लिने प्रतियोगी पोखरा ७ भित्रकै वासीन्दा हुनु पर्नेछ । २२ वर्ष मुनीको दौड प्रतियोगीतामा भने पोखरा ७ भित्रका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले पनि भाग लिन सक्नेछन् ।

पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु हुने दौड शिव मार्ग , मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ्ग चोक हुदै घारीपाटनको हिमाली टोल ,तिनकुने चोक हुदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुने समितिका सचिव मधु अधिकारीले बताउनु भयो ।