साविक विजेता अर्जेन्टिना उपाधिका लागि स्पेनसँग भिड्ने,इन्जुरी समयमा सम्हालिन नसक्दा इंग्ल्यान्ड स्तब्ध, फाइनल खेल पोखराका ११ ठाँउमा ठुलो पर्दामा प्रत्यक्ष प्रशारण हुने

-


     पोखरा क्लिक     
     असार ३२ गते २०८३ मा प्रकाशित


पोखरा,

जारी फिफा विश्वकप २०२६ को उपाधिका लागि अन्ततः साविक विजेता अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुने भएको छ। एटलान्टास्थित स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजले कप्तान लियोनल मेसीको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा पुर्याए । खेल अतिरिक्त समयमा धकेलिने अनुमान भइरहेका बेला ९ मिनेटको इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले मेसीकै अर्को उत्कृष्ट असिस्टलाई गोल गरी अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए। मेसीले दुवै गोलमा निर्णायक भूमिका खेल्दै अर्जेन्टिनाको पुनरागमन जितका नायक बने।

विश्वकपमा सातौँ पटक सेमिफाइनल पुगेको अर्जेन्टिनाले यस चरणमा आफ्नो अपराजित इतिहासलाई कायम राख्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो। नकआउट चरणमा लगातार संघर्षपूर्ण जित निकाल्दै आएको अर्जेन्टिनाले सेमिफाइनलमा पनि एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै आफ्नो च्याम्पियन चरित्र प्रस्तुत गर्‍यो। समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत नतिजासहित समूह विजेता बनेको अर्जेन्टिनाले त्यसपछि राउन्ड अफ ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२, प्रि–क्वाटरफाइनलमा इजिप्टलाई ३–२ तथा क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।

उता सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुग्दा अझै अपराजित रहेको छ। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि लगातार उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। अब विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच जुलाई २० सोमबार बिहान अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा फाइनल खेल हुनेछ। तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्ड आइतबार बिहान आमनेसामने हुनेछन्।

पोखराका ११ स्थानमा विश्वकप फाइनलको प्रत्यक्ष प्रसारण

विश्वकप फुटबलको फाइनल खेललाई सामूहिक रूपमा अवलोकन गर्ने व्यवस्था पोखरा महानगरपालिकाले मिलाएको छ। महानगरको पहलमा जुलाई २० मा हुने अर्जेन्टिना र स्पेनबीचको रोमाञ्चक फाइनल पृथ्वीचोक, हल्लनचोकसहित पोखराका ११ स्थानमा ठूलो पर्दामार्फत प्रत्यक्ष प्रसारण गरिने भएको हो। पोखराका मेयर धनराज आचार्यले पर्यटनको राजधानी पोखरामा खेल संस्कारको विकास र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फुटबलप्रेमी दर्शकका लागि सामूहिक रूपमा फाइनल हेर्ने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार परिवार, साथीभाइ तथा फुटबलप्रेमी सबैलाई उपस्थित भई विश्व फुटबलको ऐतिहासिक क्षण सँगै मनाउन आग्रह गरिएको छ। फाइनल खेलको प्रत्यक्ष प्रसारण व्यवस्थापनमा परिचय एड्भर्टाइजिङ तथा एस.के.साउण्ड एण्ड म्युजिकले पनि सहकार्य गरेका छन् । महानगरले यसलाई खेलप्रेम, उत्साह र सामूहिक एकताको पर्वका रूपमा मनाउने अपेक्षा गरेको छ।