खेलकुदमा रहेको वेतिथी अन्त्य गर्दै तीनै तहका खेलकुदका निकायसंग सहकार्य गर्न खेलकुदकर्मीको सुझाव

-


     पोखरा क्लिक     
     माघ २६ गते २०८० मा प्रकाशित



दीननाथ बराल,
पोखरा २६, माघ,


खेलकुद क्षेत्रमा रहेको वेतिथी अन्त्य गर्दै तीनै तहका खेलकुदका निकायसंग सहकार्य गर्न खेलकुदकर्मीले सुझाव दिनु भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) अन्र्तगत हालै गठन भएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिले शुक्रबार पोखरा रंगशालामा विभिन्न खेल संघ तथा खेलकुद संवद्ध संघ संस्थाका पदाधिकारीहरु बिच आयोजना गरेको छलफल कार्यक्रममा सहभागि खेलकुदकर्मीहरुले उक्त सुझाव दिनु भएको हो ।

खेलकुद जस्तो क्षेत्रमा अख्तियारमा उजुरी पर्नु, खेलकुदका पूर्वाधार निर्माण कम हुनु, भएका पूर्वाधारको उचित संरक्षण नहुनु, खेलाडी उत्पादनको लागि आवश्यक प्रशिक्षक र प्रशिक्षणको अभाव हुनु, एक खेल संघले अर्को खेलको अपनत्व नगर्नु, पोखरा रंगशालामा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका गतिविधिमा अवलोकन गर्न चाहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको उचित प्रबन्ध गर्न नसक्नु, रंगशालमा प्राप्त भएको आम्दानीको पारदर्शी नहुनु लगायतका समस्या रहेको सहभागिहरुले बताउनु भएको हो । तीनै तहका खेलकुदका निकाय राखेप, प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिको स्पष्ट कार्ययोजना र कार्यक्षेत्र निर्धारण गर्दै समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्न सक्नुपर्नेमा खेलकुदकर्मीले सुझाव दिनु भएको थियो ।

समितिका संयोजक एवं राखेप सदस्य राजेश गुरुङलाई खेलकुदमा रहेको वेतिथीहरुको अन्त्य गर्दै खेलकुदको विकास गरी दशौं राष्ट्रिय खेलकुदमा केन्द्रित हुने गरी प्रदेशको आन्तरिक तयारीमा जुट्न आग्रह गरिएको समितिका एक सदस्य एवं साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका (नासु) डम्बर बहादुर (डिबी) नेपालीले पोखराक्लिकलाई बताउनु भयो । साथै सहभागीहरुले खेलकुदमा रहेको वेतिथीलाई व्यबस्थापन गर्न नसके खेलकुदको पदीय दाहित्वमा रहेका राखेप सदस्य गुरुङ सहितका व्यक्तिहरुलाई राजिनामा दिन चेतावनी समेत दिनु भएको थियो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आफुहरुले यस क्षेत्रमा खेलकुदको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण गरी त्यसको छ्ट्टिै नै परिणाममुखी प्रतिवेदन पेश गर्ने तयारीमा रहेको संयोजक गुरुङले जनाउनु भयो । खेलकुदको विकासको लागि सबैलाई मिलायर अघि बढ्ने उहाँले जनाउनु भयो । तेक्वान्दो संघका केन्द्रिय सदस्य मदन केसीले खेलकुदको विकास गर्न व्यावसायी सहितको खेलकुदकर्मीको टिम गठन गर्न माग गर्नु भयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद ऐन बाजिएकोले खेलकुदमा समस्या उत्पन्न भएको बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले खेलाडीहरुले खेल खेल्ने तथा प्रशिक्षण गर्ने उपयुक्त वातावरण प्राप्त नगरेको गुनासो गर्दै खेलाडीलाई प्राप्त सेवा सुविधा उपलब्ध गराउन माग गर्नु भयो । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले खेलकुदमा व्यक्तिवाद हावी भएको दाबी गर्नु भयो ।
संयोजक गुरुङ्गको अध्यक्षतामा भएको छलफलमा राखेपका पूर्व सदस्य जयराम हमाल, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पूर्व निर्देशक बिद्या मर्सानी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिल श्रेष्ठ, पूर्व खेलाडी विनोद शेरचन, पूर्व प्रशिक्षक शम्भु केसी, कास्की जिल्ला सुटिङ संघका श्याँम कृष्ण श्रेष्ठ, वुल्स म्यान क्लव पोखराका नुना गुरुङ लगायतले खेलकुदको विकासमा सबै जुटेर एक भई लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।