१२ हजारको प्याकेज पोखरामा फेरी ३ हजार मै प्याराग्लाइडिङ गर्न पाइने

-


     दीननाथ बराल    
     पौष २३ गते २०८० मा प्रकाशित



पोखराको सहासिक खेल प्याराग्लाइडिङ गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न सकिने भएको छ । केही दिन अघि १२ हजारको प्याकेजमा २५ प्रतिशत छुट सहित ९ हजारमा उडान सुरु भएको प्याराग्लाईडिङ व्यवसाय अझ राम्रो फष्टाउन नसकेको भन्दै केही कम्पनीहरुले ३ हजारसम्ममा पनि प्याराग्लाईडिङ गराउने गरेका छन्।

पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरु बढी भएकाले गर्दा केही प्याराग्लाईडिङ कम्पनीहरुले ह्वात्तै मुल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ । एक थरी व्यवसायीहरुले आफुखुसि मुल्य र सेवा दिन पाउनु पर्ने राय राख्दै आउनु भएको छ भने अर्को थरीले यसको मुल्य देखि आलोपालो सिस्टममा प्याराग्लाईडिङ संचालन गर्नु पर्छ भन्ने मान्यता राख्दै आउनु भएको छ ।

पोखरामा हाल पर्यटकको अफसिजन भएको हुनाले पनि यस खेलमा आकर्षण गर्न केही कम्पनीले बिषेश छुट भन्दै २५ देखि ५० प्रतिशतसम्म छुट प्याकेज आफ्नो सामाजिक संजाल मार्फत हालेको पाइन्छ । पोखरामा १२ हजारको प्याकेज ह्वात्तै घटायर ३ हजारमा गर्नुले यसमा सुरक्षामा चुनौती हुन सक्ने नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराईले बताउनु भयो । यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने अब ३ हजारमा उडान गर्दा त्यसबाट पाइलट सहितका अन्य क्षेत्रमा यसबाट प्रभाव पर्न सक्ने उहाँको भनाई छ । फष्टकम फष्ट सर्भिसका आधारमा अब पाइलटहरुले एकै दिनमा जति पनि उडान गर्न पाइने प्राबधानले गर्दा सुरक्षामा अर्को चुनौती हुन सक्ने नाले जनाएको छ ।

मंसिर २९ देखि पुष १५ सम्म करिब दुई साता बन्द भएको प्याराग्लाइडिङ संचालनमा आएसंगै प्याराग्लाइडिङ कम्पनीहरुले बिषेश छुट उपलब्ध हुने घोषणा गरेका थिए । पोखरामा अन्तराष्ट्रि«य विमानस्थल संचालनमा आएसंगै अघिल्लो बर्ष २०७९ पुष १७ गते देखि पोखरा १८ को सराङकोट तथा तोरीपानीबाट स्थान्तरण भई पोखरा २४ को मान्द्रेढुंगामा सरेको थियो । केही महिना अघि देखि सराङकोटको तोरीपानी बहाकोटबाट पुनः प्याराग्लाइडिङ सुरु भएको प्याराग्लाइडिङ पाइलट शर्मिला शर्माले बताउनु भयो । मान्द्रेढुंगा सहित तोरीपानीबाट समेत प्याराग्लाइडिङ गर्न पाउदा अब यसको प्रबद्र्धन हुने उहाँको बुझाई छ । केही समय अघि पोखरामा ३ हजारसम्ममा प्याराग्लाईडिङ उडान भएको थियो ।