टाईगर कपको तयारी तिव्र, प्रतियोगितामा महिला तर्फ भारत र पुरुष तर्फ श्रीलंकाको टिम सहभागि हुने

-


     पोखरा क्लिक     
     पौष १३ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १३, पुष

पोखरामा आउँदो माघ महिनाको पहिलो साता आयोजना हुने टाईगर कप भलिबल प्रतियोगिता २०८० को तयारी तिव्र पारिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १ गतेदेखि ६ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त प्रतियोगितामा पुरुष तथा महिला ६÷६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फ श्रीलंकाको आर्मी टिम र महिला तर्फ भने भारतको हरियाणा पुलिस क्लव सहभागि हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपाल कास्कीका अध्यक्ष नारायण शर्माले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लब स्तरीय महिला तथा पुरुष उक्त प्रतियोगितामा गण्डकी प्रदेशले महिला तथा पुरुष तर्फ सहभागि हुने भएको छ । त्यसै गरी नेपालका तीन विभागिय टोली नेपाल पुलिस, नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र शसस्त्र प्रहरी वलको एपिएफ क्लवले महिला तथा पुरुष तर्फ सहभागि हुने भएका छन्। त्यस्तै पुरुष तर्फ हेल्प नेपाल स्पोट्र्स क्लव सहभागि हुने भएको छ भने महिला तर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लव सहभागि हुने भएको अध्यक्ष शर्माले बताउनु भयो ।

चौथो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताको पुरस्कार राषिमा बृद्धि गरिएको छ । पोखरा रंगशालाको भलिवल कोर्टमा लिगकम नकाउटका आधारमा हुने उक्त खेलमा विजेता टिम(पुरुष तथा महिला) लाई जनही ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । यस बर्ष प्रथम पुरस्कारमा ५० हजार बृद्धि भएको हो । उपविजेता पुरुष तथा महिलाको टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेश्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद २५÷२५ हजार ५ सय ५५ अन्य विधागत उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार ५ सय ५५ प्रदान गरिने भएको छ । उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतियोगिताका संयोजक दीपक कार्कीले एटुजेडलाई बताउनु भयो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च लाग्ने उहाँले जनाउनु भयो । यसपाली अझ व्यबस्थित अस्थायी प्यारापिट बनाउने भएको महासचिव डिबी नेपालीले बताउनु भयो ।

नेपाल भलिबल संघको स्विकृती, सुश्री मिडिया प्रा.ली वानेश्वर काठमाण्डौको समन्वय एवं मुख्य मन्त्रीको कार्यालय गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल पोखरा, ग्रिन सिटी हस्पिटल काठमाण्डौं, रोड शो इन प्रा.ली अन्नपुर्ण केबुलकार, मनकामना केबुलकार, प्रभु बैंक, बतास अर्गनाईजेसन, माछापुच्छ्रे बैंक, मक्तिनाथ विकास बैंक, केल्मी नेपाल काठमाण्डौंको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनु भयो ।