सेती नदी थुनिँदा झर्ना बन्यो, उच्च सर्तक हुन स्थानियको माग

-


     पोखरा क्लिक     
     श्रावण १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १, साउन,

पोखरा महानगरपालिका–१५ र १७ को बिचमा पर्ने रातोपहिरा क्षेत्रस्थित सेती नदीमा केही महिना अघि गएको सुख्खा पहिरोका कारण हाल नदी थुनिएपछि त्यहाँ हाल झर्ना बनेको छ । सेतीनदीमा ठूलो जलाशय बनेको र त्यसबाट सम्भावित विपद्को जोखिम बढेको भन्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल अध्ययन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

स्थानीय भगवान पोखरेलले करिब दुई महिना अघि खसेको सुख्खा पहिरोका कारण सेती नदीको बहाव अवरुद्ध भएको बताए। उनका अनुसार हाल नदीको पानी करिब ५० मिटर माथिसम्म जम्मा भएर नयाँ झरनाजस्तो दृश्य देखिएको छ। ूपहिरोले थुनिएको स्थानमा ठूलो जलाशय बनेको छ। यदि यो एकै पटक फुट्यो भने तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्छ,ू उनले बताए। यस्तै स्थानीय एवं पत्रकार हरि बस्तोलाले पनि पोखराक्लिकसँग कुरा गर्दै पहिरो थुनिएको स्थानको दायाँ–बायाँ भागको जमिन अझै बिस्तारै भासिने र झर्ने क्रम जारी रहेको जानकारी दिए। उनका अनुसार यसले थप पहिरो खस्ने वा थुनिएको भाग अचानक भत्किने जोखिम बढाएको छ।

स्थानीयका अनुसार नदी थुनिएपछि बनेको जलाशयको प्रभावले वरपरको भू–भाग कमजोर बन्दै गएको देखिएको छ। त्यसैले भूगर्भविद्, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायले तत्काल स्थलगत अध्ययन गरी जोखिमको यथार्थ मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ। स्थानीयले विशेषगरी सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, सम्बन्धित निकायले नियमित अनुगमन गर्न तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।