पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने

-


     पोखरा क्लिक     
     श्रावण १ गते २०८३ मा प्रकाशित


पोखरा,

स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित साइकल सिटी पोखराले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको फन राइड यसपटक करिब ६० किलोमिटर लामो रुटमा सञ्चालन हुने भएको छ।

साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार यसपटकको यात्रा पोखराको ट्रेडमलबाट सुरु भई दोभिल्ला–भागमारा–नेपाल आयल निगम गगनगौडा डिपो–रूपाताल–तालबेसी–माझीकुना–बेगनासताल, तालचोक, विजयपुर हुँदै अमरसिंह चोकमा पुगेर फन राइड समापन हुनेछ। अध्यक्ष श्रेष्ठले स्वच्छ वातावरण र पर्यटन भन्ने मूल नारासहित पोखराका विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्ने तथा ती क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक महिनाको पहिलो शनिबार फन राइड आयोजना हुँदै आएको बताउनुभयो। यसपटक प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्र समेटिने गरी रुट तय गरिएको उहाँको भनाइ छ।

उहाँका अनुसार कार्यक्रमको अर्को प्रमुख उद्देश्य पोखरामा साइकल संस्कृतिको विकास गर्दै दैनिक जीवनमा साइकल प्रयोगलाई प्रोत्साहन गर्नु हो। साइकलको प्रयोग बढेमा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै वातावरण संरक्षण, स्वास्थ्य प्रवर्द्धन र दिगो यातायात प्रणालीको विकासमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ। साइकल सिटी पोखराले पोखराका पर्यटकीय गन्तव्यको प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने अभियानलाई निरन्तरता दिँदै हरेक महिनाको पहिलो शनिबार फन राइड आयोजना गर्दै आएको आयोजकले पोखराक्किलाई जनाएको छ ।