क्रबाजी सिङ्दी तमु समाजको दबदबा, रमेश गुरुङ १० किलोमिटर सडक दौडमा प्रथम

-


     पोखरा क्लिक     
     श्रावण १ गते २०८३ मा प्रकाशित


पोखरा, साउन ,

हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाज ले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको छ। पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाजका रमेश गुरुङ ले निर्धारित दूरी ३५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे।

सोही समाजका प्रवीन गुरुङ ले ३७ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा चन्द्र सुभ्बा गुरुङ ले ३७ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे। यससँगै व्यक्तिगततर्फ शीर्ष तीन स्थान नै क्रबाजी सिङ्दी तमु समाजका धावकहरूले आफ्नो नाममा पार्न सफल भए । टिम प्रतिस्पर्धामा पनि क्रबाजी सिङ्दी तमु समाजले २८ अंक जोड्दै च्याम्पियनको उपाधि जित्यो। पाइको तमु समाज, पोखरा–१२ ६७ अंकका साथ उपविजेता बन्यो भने ताङतिङ दूधपोखरी तमु समाज ७४ अंकसहित तेस्रो स्थानमा रह्यो।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह हिमाली गुरुङ परिवारका कार्यबाहक अध्यक्ष रुद्रबहादुर गुरुङको अध्यक्षतामा तथा प्रमुख अतिथि रत्नमान गुरुङको आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन प्रतियोगिताका द्वय संयोजक श्याम गुरुङ र युवा समितिका अध्यक्ष पूर्ण गुरुङले संयुक्त रूपमा गरेका थिए। प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए। साइकल सिटी ले व्यवस्थापनतर्फ सहयोग गरेको थियो भने कास्की जिल्ला एथलेटिक्स संघ ले प्राविधिक सहयोग प्रदान गरेको आयोजकले जनाएको छ। आयोजकका अनुसार खेलकुदमार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन, सामाजिक एकतालाई सुदृढ बनाउने तथा युवापुस्तामा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न तमु समाजका धावकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

महिला ५ किलोमिटर दौड

महिला ५ किलोमिटर दौडमा पाइको तमु समाज, पोखरा–१२ की ननिता गुरुङ ले निर्धारित दूरी २४ मिनेट २५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। सोही समाजकी रोशनी गुरुङ ले २६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन्। त्यसैगरी मुग्री गुरुङ समाज की हेउमाया गुरुङ ले २८ मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। महिला विधामा सहभागी धाविकाहरूले उत्साहजनक प्रतिस्पर्धा प्रस्तुत गरेका थिए ।