कास्कीमा कृषि आधुनिकीकरण कार्यक्रम प्रभावकारी ः ७६ प्रतिशत बजेट खर्च

-


     पोखरा क्लिक     
     असार ३२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, असार ३२,

कास्कीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष २०८२÷८३ मा उत्पादन वृद्धि, कृषि पूर्वाधार विस्तार, यान्त्रीकरण तथा कृषकको व्यावसायिकीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । तरकारी सुपरजोन, अलैँची जोन र गाई–भैँसी जोनमार्फत सञ्चालित कार्यक्रमले ७५।९९ प्रतिशत बजेट खर्च गर्दै जिल्लाको कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण प्रगति गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीले पोखराक्लिकलाई जनाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजित ९ करोड ३८ लाख २८ हजार रुपैयाँमध्ये छ करोड ९७ लाख ७६ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर बहादुर थापा मगरले बताउनु भयो । पुँजीगततर्फ ७३।७० प्रतिशत तथा चालुतर्फ ७६।३८ प्रतिशत वित्तीय प्रगति भएको उहाँले जनाउनु भयो । कार्यक्रमले उत्पादनसँगै कृषि पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको प्रमुख थापा मगरले बताउनु भयो । साना सिँचाइ आयोजना, थोपा सिँचाइ प्रणाली, सिँचाइ पाइप खरिद तथा मर्मतमार्फत करिब ८५ हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । अलैँची जोनअन्तर्गत २२४ रोपनी क्षेत्रमा नयाँ अलैँची खेती विस्तार गरी कृषकलाई प्रतिरोपनी तीन हजार एक सय ५० रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

कृषि यान्त्रीकरणलाई तीव्रता दिन २३० वटा कृषि औजार तथा उपकरण वितरण गरिएको छ । यसमा १५२ वटा मिनी टिलर, १० वटा इलेक्ट्रिक स्प्रे, ६ वटा पावर स्प्रे, ३४ वटा डिजिटल तराजु, १८ वटा चाफ कटरलगायतका सामग्री समावेश छन्। तरकारी उत्पादन विस्तारका लागि एक आधुनिक अटोमेसनयुक्त नर्सरी, तीन वटा नर्सरी घर, ८८० वटा अस्थायी प्लास्टिक टनेल तथा ४५ वटा स्थायी प्लास्टिक टनेल निर्माण गरिएका छन्। यसबाट थप १४२ रोपनी क्षेत्रमा व्यावसायिक तरकारी खेती विस्तार भएको कार्यालयले जनाएको छ । च्याउ उत्पादन प्रवद्र्धनका लागि तीन वटा उच्च प्रविधियुक्त संरचना तथा ११२ वटा उत्पादन संरचना निर्माण गरिएका छन्। साथै नौ मेट्रिक टन क्षमताको कोल्ड रुम, एक दुग्ध प्रशोधन उद्योग, एक बीउ प्रशोधन उद्योग र पाँच वटा सुधारिएको अलैँची भट्टी स्थापना गरिएको छ । कार्यक्रमअन्तर्गत १८ वटा नयाँ कृषि तथा पशुपन्छी उद्यम स्थापना भएका छन ्। दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि पाँच वटा चिलिङ भ्याट स्थापना, छ वटा दुग्ध सङ्कलन केन्द्रको सुदृढीकरण, ७४ वटा गोठ तथा भकारो सुधार, ८० वटा पाडी–बाच्छी प्रवद्र्धन तथा ३७७ जना कृषक र प्राविधिकलाई विभिन्न विषयमा तालिम प्रदान गरिएको छ । कास्कीका पाँचवटै स्थानीय तहमा रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी सप्ताहव्यापी सचेतना अभियानसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख थापा मगरले आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार निर्माण, अनुदान र प्रविधि हस्तान्तरणमार्फत जिल्लामा व्यावसायिक कृषि विस्तारमा सकारात्मक परिवर्तन देखिएको बताउनु भयो । सूचना अधिकारी सुजन पोखरेलका अनुसार कार्यक्रमले कृषकको उत्पादन क्षमता, बजार पहुँच र आय वृद्धि गर्न उल्लेखनीय योगदान पु¥याएको छ । “पूर्वाधार विकास, यान्त्रीकरण र प्रविधिको प्रयोगले कृषिलाई थप व्यावसायिक बनाउँदै लगेको छ,” उहाँले बताउनु भयो । यसैबीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बुधबार विभिन्न अनुदानमा सञ्चालन भएका कृषि उद्यम, बीउविजन उत्पादन केन्द्र तथा दुग्ध चिस्यान केन्द्रको स्थलगत अनुगमन गरिएको थियो । अनुगमनपछि प्रमुख पौडेलले उत्पादनमुखी किसानलाई राज्यले यस्तै प्रकारका प्रोत्साहनमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताउँदै कृषि क्षेत्रमा गरिएको लगानीले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।