पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनाः दुई पर्यटक सहित ४ जनाको उद्धार

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, जेठ,

पोखराको फेवातालमा आज(बुधबार) दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना भारतीय पर्यटक सहित ४ जनाको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब ३ः२० बजेको समयमा हावाको गति तिव्र भएको कारण दुई वटा प्याराग्लाईडिङले तालमा फोर्स ल्याण्डिङ गर्दा दुई जना पर्यटक सहित ४ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका अन्तर्गतको फेवा रेस्क्यु टावरमा खटिएको टोलीले पोखराक्लिकलाई जनाएको छ ।

फेवा रेस्क्यु सहित महावीर गण (रेन्जर) र नं. १ विपद् व्यवस्थापन गणको संयुक्त टोलीले उक्त प्याराग्लाईडिङ दुर्घटना हुन साथ तत्काल उद्धार गरेकोले ४ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी निरीक्षक हिरा गुरुङले बताउनु भयो । काभ्रे धुलिखेल नगरपालिका–१ निवासी अग्नि प्याराग्लाइडिङ कम्पनीका पाइलट ३० बर्षका मिलन शाह, पोखरा ६ का जाभु साथी प्याराग्लाइडिङ कम्पनी पोखराका २८ बर्षीय पाइलट विश्वास अधिकारीको साथमा भारतका दुई जना पर्यटकको उद्धार गरिएको उहाँले बताउनु भयो ।

भारतको बनारस निवासी ४१ बर्षका अकलेश यादव र भारत बनारस निवासी ३५ बर्षीय चन्दन कुमार पटेलको समेत उद्धार टोलीले सकुशल उद्धार गरेको हो । उहाँहरुको अबस्था हाल सामान्य रहेको नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष अनिल केसीले बताउनु भयो । प्रतिकुल मौसमका कारण दिउँसो हावा हुरी आएकोले जमिनमा ल्याण्डिङ गर्न कठिन भई तालमा फोर्स ल्याण्डिङ गरिएको उहाँले जनाउनु भयो ।

मौसममा आएको परिवर्तनसंगै आफुहरुले सबै प्याराग्लाग्लाईडिङ पाइलटहरुलाई सेट मार्फत खबर गरेर अन्य १७ जनालाई तत्काल अवतरण गर्न निर्देशन दिएको प्राविधिक विजय गौमतले बताउनु भयो । दुई जनाले जमिनमा ल्याण्डिङ गर्न कठिन भएकोले गर्दा सुरक्षित अवतरणको लागि फोर्स ल्याण्डिङ तालमा गरिएको उहाँले जनाउनु भयो ।

फेवा रेस्क्यु टावरमा खटिएको टोलीले मोटरबोट प्रयोग गरी चारैजनाको उद्दार गरेको हो। घटनास्थलमा सशस्त्र प्रहरी निरीक्षक हिरा गुरुङ को कमान्डमा पाँच जना सहितको टोलीले सक्रियता पूर्वक उद्दार कार्य सञ्चालन गरेको थियो। साथै, सशस्त्र प्रहरी हवल्दार सन्तोष श्रेष्ठ र दुई जना गोताखोर सहितको विपद् व्यवस्थापन टोलीले पनि उद्दारमा खटिएको थियो ।



This will close in 20 seconds