
पोखरा,
तीन वर्षभन्दा लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको ढोका खुल्ने भएको छ। संयुक्त अरब इमिरेट्स ९यूएई० को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्दैछ।
दैनिक उडानको तयारीमा रहेको फ्लाई दुबईले टिकट बुकिङ खुला गरेसँगै पोखराको पर्यटन क्षेत्रमा समेत उत्साह देखिएको छ। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पहिलो उडान नै करिब भरिन लागेको छ भने त्यसपछिका उडानमा पनि यात्रुको सहभागिता उत्साहजनक हुने संकेत देखिएको छ। उनका अनुसार अहिले पोखराबाट दुबई जानेभन्दा दुबईबाट पोखरा आउने यात्रुको माग अझ बढी देखिएको छ। यसले पोखरामा अन्तर्राष्ट्रिय पर्यटक तथा प्रवासी नेपालीको आगमनका लागि नयाँ सम्भावना देखाएको श्रेष्ठले बताउनुभयो। “पहिलो फ्लाइट नै लगभग फुल हुने अवस्थामा पुगेको छ। त्यसपछिका फ्लाइटमा पनि यात्रुको सहभागिता उत्साहजनक हुने देखिन्छ,” श्रेष्ठले भन्नुभयो, “अहिले पोखराबाट दुबई जानेभन्दा दुबईबाट पोखरा आउने यात्रुको माग अत्यधिक देखिएको छ।”
पोखराको आकाश हुँदै विश्वका २५० गन्तव्य
फ्लाई दुबईको पोखरा प्रवेशलाई पर्यटन व्यवसायीहरूले एउटा नयाँ अन्तर्राष्ट्रिय गन्तव्य खुलेको मात्र नभई पोखरालाई विश्वव्यापी हवाई सञ्जालसँग जोड्ने अवसरका रूपमा हेरेका छन्। फ्लाई दुबईका आफ्नै १२० भन्दा बढी गन्तव्य छन्। इमिरेट्ससँगको कोडसेयर साझेदारी जोडिँदा यात्रुले करिब २५० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यसम्म पहुँच पाउने कम्पनीको भनाइ छ। श्रेष्ठका अनुसार दुबई विश्वकै महत्वपूर्ण हवाई ट्रान्जिट हबमध्ये एक भएकाले पोखरा–दुबई उडान सुरु भएपछि पोखराको अन्तर्राष्ट्रिय पहुँच उल्लेख्य रूपमा विस्तार हुन सक्छ।
“२५० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा पहुँच भएको कम्पनीले पोखराबाट उडान सुरु गर्नु पर्यटन क्षेत्रका लागि ठूलो आशा र भरोसाको विषय हो,” उहाँले भन्नुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन नसक्दा विमानस्थलको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको थियो। चीन र भुटानलगायतका गन्तव्यबाट केही चार्टर उडान भए पनि नियमित अन्तर्राष्ट्रिय सेवा भने सुरु हुन सकेको थिएन। फ्लाई दुबईको नियमित उडानसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो स्थापनाको प्रमुख उद्देश्यअनुसार अन्तर्राष्ट्रिय यात्रु बोक्ने अपेक्षा गरिएको छ।
दैनिक उडान, १६६ सिटको विमान
फ्लाई दुबईले सुरुमा दैनिक एक उडान सञ्चालन गर्नेछ। तालिकाअनुसार पहिलो जहाज साँझ ६ः१५ बजे पोखरा आइपुग्ने र करिब एक घण्टापछि ७ः१५ बजे दुबईका लागि उड्नेछ। पोखरा–दुबई रुटमा १६६ सिट क्षमताको बोइङ ७३७–८०० विमान प्रयोग गरिनेछ। दुबई फर्कंदा यात्रुसँगै कार्गोसमेत लैजाने योजना रहेको कम्पनीले जनाएको छ। पोखराबाट दुबई जाने यात्राका लागि काठमाडौं हुँदै यात्रा गर्नुभन्दा भाडा पनि तुलनात्मक रूपमा कम हुने बताइएको छ। कम्पनीका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार प्रमुख १५–२० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा काठमाडौंको तुलनामा पोखराबाट कम्तीमा ५ हजार रुपैयाँसम्म सस्तो भाडा राखिएको छ।
एउटै टिकटमा २५० गन्तव्यसम्म
पोखरा–दुबई उडान दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ बाट सञ्चालन हुनेछ। यो उडान इमिरेट्ससँगको कोडसेयर साझेदारीअन्तर्गत रहने कम्पनीले जनाएको छ। यसले पोखराबाट दुबई पुगेपछि अर्को अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने यात्रुलाई एउटै टिकट, सामानको सिधा ट्रान्सफर तथा कनेक्टिङ उडानको सुविधा लिन सहज बनाउने अपेक्षा गरिएको छ। यस अर्थमा पोखरा–दुबई उडान पोखरा र दुबईबीचको मात्र हवाई सम्पर्क नभई पोखरालाई मध्यपूर्व, युरोप, अफ्रिका, अमेरिका तथा एसियाका विभिन्न गन्तव्यसँग जोड्ने ‘गेटवे’ बन्न सक्ने सम्भावना देखिएको छ।
सरकारी प्रोत्साहनदेखि महानगरको प्रवर्द्धनसम्म
पोखरा–दुबई उडानलाई नियमित र व्यावसायिक रूपमा सफल बनाउन सरकारी तथा स्थानीय तहबाट समेत प्रोत्साहनको व्यवस्था गरिएको छ।
सरकारले उडानलाई प्रोत्साहन गर्न ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवामा समेत ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।यस्तै, पोखरा महानगरपालिका र फ्लाई दुबईबीच उडान प्रवर्द्धनका लागि समझदारी भएको छ। महानगरले आफ्ना सार्वजनिक तथा नगरपालिका स्वामित्वका प्रचारस्थलमा १५ दिनसम्म निःशुल्क विज्ञापन स्थान उपलब्ध गराउने तथा डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत पनि प्रवर्द्धन गर्ने भएको छ।
पोखरा आउने यात्रुको माग बढी
पर्यटन व्यवसायीहरूका अनुसार पोखरा–दुबई रुटको सफलता यात्रुको दुवैतर्फको आवागमनमा निर्भर हुनेछ। हाल दुबईबाट पोखरा आउने यात्रुको माग उत्साहजनक देखिए पनि पोखराबाट दुबई जाने यात्रु बढाउन केही व्यावहारिक चुनौती छन्। विशेषगरी यूएईको भिसा प्रक्रियालाई सहज बनाउनुपर्ने व्यवसायीहरूको माग छ। नेपाली यात्रुका लागि आवश्यक कागजी प्रक्रियाले पोखराबाट बाहिरिने यात्रुको संख्या प्रभावित गर्न सक्ने उनीहरूको भनाइ छ। श्रेष्ठले पनि उडान सुरु हुनु आफैंमा उपलब्धि भए पनि यसलाई दीर्घकालीन र नियमित बनाउन दुवैतर्फ पर्याप्त यात्रु सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
सीईओको पोखरा भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ
फ्लाई दुबईका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० समेत नेपाल र पोखरा आउने कार्यक्रम तय भएको छ। श्रेष्ठले कम्पनीको उच्च व्यवस्थापन तहबाट पोखराको भ्रमण हुनु सकारात्मक संकेत भएको बताउनुभयो। उहाँका अनुसार सीईओको पोखरा भ्रमणले विमानस्थलको अवस्था, स्थानीय बजार, पर्यटन सम्भावना तथा उडानको व्यावसायिक सम्भावनाबारे प्रत्यक्ष बुझ्ने अवसर प्रदान गर्नेछ।
“फ्लाई दुबईका सीईओ नै नेपाल र पोखरा आउने कार्यक्रम तय हुनु महत्वपूर्ण विषय हो। उहाँको भ्रमणले पोखराबाट दिगो अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न थप सहज वातावरण बन्ने विश्वास गरेका छौँ,” श्रेष्ठले भन्नुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको थियो। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको विमानस्थलका लागि फ्लाई दुबईको उडान अब नयाँ सुरुवात बन्ने देखिएको छ।
तर उडान सुरु हुनु जति महत्वपूर्ण छ, त्यसलाई निरन्तर, व्यावसायिक र दीर्घकालीन रूपमा सञ्चालनमा राख्नु त्यति नै ठूलो चुनौती हुनेछ। त्यसका लागि यात्रुको माग, भिसा प्रक्रिया, गन्तव्य विस्तार र पोखराको पर्यटन प्रवर्द्धनसँगै उडानको नियमितता कायम राख्नुपर्ने देखिन्छ। फ्लाई दुबईको पहिलो उडानले पोखराको आकाशमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानको नयाँ अध्याय सुरु गर्नेछ। अब त्यसले पोखरालाई कति टाढासम्म जोड्छ र यहाँको पर्यटन तथा अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा भने सुरु भएको छ।



