२३ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा हाल सम्मकै धेरै घाटा

-


     पोखरा क्लिक     
     भाद्र २७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल
पोखरा २७, भदौ

“२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८०” मा हालसम्मकै सबै भन्दा बढी घाटा भएको छ । कोभिडका बेलामा समेत ३ लाख घाटा भएको उक्त पोखरा गोल्ड कपबाट गत बर्ष भने १५ लाख भन्दा बढी घाटा भएको सहारा क्लवले जनाएको छ । गत माघ ८ देखि २० गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट १५ लाख ३८ हजार ४ सय ३६ रूपैया घाटा भएको विहिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रम मार्फत क्लवले जानकारी गराईएको हो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न १ करोड १५ लाख ३३ हजार ९ सय १७ रुपैयाँ खर्च भएको सहारा क्लवका कोषाध्यक्ष बिनु राना मगरले बताइन् । उक्त प्रतियोगिताबाट ९९ लाख ८५ हजार ४ सय ५१ रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको उनले जनाइन् । विश्व व्यापी रुपमा देखा परेको आर्थिक मन्दी र रास्ट्रिय फुटबल खेलाडीहरुको विदेश पलायनले नेपालको रास्ट्रिय फुटबलको रौनक घट्दै गएको कारण प्रतियोगिता संचालनमा निकै चुनौती रहेको क्लवका अध्यक्ष केशवराज बरालले बताए । उक्त प्रतियागिता सफल पार्न दिने भनेको केही रकम उठ्न नसक्दा पनि क्लवले यस बर्ष हालसम्मकै धेरै घाटा व्यहोर्नुपरेको उनले जनाए । एक जना व्यक्तिबाट १ लाख १५ हजार सहयोग दिने घोषणा सहित चेक दिए पनि चेक बाउन्स भएको क्लवले जनाएको छ ।

“आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरी“ भन्ने उद्देस्य अनुरुप सहारा क्लब पोखरा द्वारा संचालित कठिन परिस्थिति एंव विपन्न वर्गका बालकहरु सम्मेलित सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ उक्त प्रतियोगिता संचालन हुँदै आएको हो । कोभिडका वेला संस्थाले करिब ३ लाख घाटा व्यहोरेको थियो भने गत बर्ष धेरै घाटा व्यहोर्नुपरेको क्लवले जनाएको छ ।

गत बर्ष कुल १२ टिम सहभागी भएकोमा २३ औं आहा ! रारा पोखरा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र उप–विजेता थ्री स्टार क्लब ललितपुर रहेको थियो । यस प्रतियोगितामा सदा झै मुख्य प्रायोजकबाट एक लाख बराबरको रारा तयारी चाउचाउ दर्शकहरुलाई वितरण गरिएको थियो भने २२ लाख प्राप्त भएको थियो । यसपाली भुटानको टिम ल्यादा मात्र करिब ९ लाख खर्च भएको पूर्व अध्यक्ष विक्रम थकालीले बताए । पोखरा रंगशालाको मैदान सहित अन्य भौतिक संरचनाको मंर्मत संहारमा करिब ४ लाख ४५ हजार खर्च भएको कार्यक्रम संयोजक पूर्ण बहादुर गुरुङले बताए । आयोजक खर्चमा ११ लाख ५७ हजार, खेलाडीको दैनिक भ्रमण खर्चमा ३९ लाख ७३ हजार, प्रचार प्रसारमा ६ लाख खर्च भएको थियो । ११ दिन चलेको प्रतियोगितामा प्रबेश टिकट बिक्रिबाट मात्र २६ लाख ३७ हजार आम्दानी गर्न सफल भएको थियो । पोखरा महानगरपालिकाले १० लाख, प्रदेश खेलकुद परिषद गण्डकीले ५ लाख, डिशमिडिया नेटवर्क लिबाट ५ लाख सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

अन्तर्राष्ट्रिय अन्तर–क्लब स्तरीय “२३ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८०” लाई सफलतापुर्वक सम्पन्न गर्न पोखरा महानगरपालिका संरक्षक, उप–प्रायोजकमा पोखरा ९ को कार्यालय, चरक मेमोरियल हस्पिटल लगायतका रहेको महासचिवब रामजी प्रसाद अधिकारी बताए ।