
पोखरा, भदौ १५,
भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा गएको बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची पोखरा सम्पर्क समाजले प्रधानमन्त्री राहत कोषमा २ लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण धेरै परिवारले ज्यान गुमाउनुका साथै घरबार, सम्पत्ति र दैनिकी गुमाउनुपरेको अवस्थामा प्रभावित नागरिकको दुःखमा साथ दिने उद्देश्यले समाजले उक्त रकम सहयोग गरेको हो। विपद्को घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको समाजले जनाएको छ।
समाजका अध्यक्ष रामप्रसाद पौडेलका अनुसार ‘पीडामा साथ, विपद्को घडीमा सहयोग’ भन्ने भावनाका साथ समाजका सदस्य तथा शुभेच्छुकबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। “विपद्का बेला सहयोगको रकम सानो वा ठूलोभन्दा पनि पीडितको घाउमा मलम लगाउने भावना महत्वपूर्ण हुन्छ,” अध्यक्ष पौडेलले भन्नुभयो। उहाँले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रहसमेत गर्नुभयो।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायत विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्लाई समाजले कुनै एक क्षेत्रको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा र चुनौतीका रूपमा लिएको जनाएको छ। विपद्मा परेका परिवारको साथमा उभिनु र सक्दो सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले बताउनु भयो । समाजले विपद्का कारण ज्यान गुमाउनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ। साथै केही नागरिक अझै उद्धारको पखाईमा रहेकोले राज्यले जति सक्दो छिटो उद्धार गर्नुपर्ने पाण्डेले माग गर्नुभयो । तष्विरः रोहित बस्नेत




