मर्दी हिमालमा फसेका ३ युवाको उद्धार हुँदै

-


     पोखरा क्लिक     
     श्रावण २१ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, साउन २१,

मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन युवा सकुशल फेला परेका छन्। उनीहरू अहिले मोदी खोलाको किनारमा रहेका छन् भने उद्धार टोली उनीहरूसम्म पुगिसकेको छ। दुवै पक्षबीच प्रत्यक्ष संवाद भइरहेको छ र सुरक्षित स्थानतर्फ ल्याउने अन्तिम तयारी भइरहेको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीका अनुसार पोखरा महानगरपालिका–१४, खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ साउन १९ गते मर्दी हिमाल पदयात्राका लागि निस्किएका थिए। साउन २० गते बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए । सम्पर्क टुटेपछि बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीको नेतृत्वमा स्थानीय टोलीले खोजी अभियान सुरु गरेको थियो। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ९एपीएफ०, नेपाली सेना, स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको संयुक्त प्रयासमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो ।

खोजीका क्रममा उनीहरू अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत छुमरुङ फेदी नजिक मोदी खोलाको पारिपट्टि रहेको पुष्टि भएको थियो। प्रारम्भिक अनुमानअनुसार बादलडाँडा क्षेत्रबाट बाटो बिराएपछि उनीहरू घना जंगल र भीर पार गर्दै मोदी खोलाको किनारसम्म पुगेका थिए। पहिलो रात उनीहरूले जंगलको एउटा ओडारमा बिताएको जानकारी प्राप्त भएको छ । उद्धार टोलीले सुरक्षित बाटोबाट माथि आउन आग्रह गरे पनि उनीहरू भीर हुँदै खोलातर्फ झरेका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको थियो। त्यसपछि घान्द्रुक प्रहरी, अन्नपूर्ण गाउँपालिका–११, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको हो। मोदी खोलामा पानीको बहाव अत्यधिक रहेकाले उनीहरूलाई सुरक्षित रूपमा खोला पार गराउनु अहिलेको मुख्य चुनौती बनेको छ। सुरक्षाकर्मीहरूले अस्थायी फड्के निर्माण गर्ने, आवश्यक उपकरण प्रयोग गर्ने तथा सुरक्षित तरिकाले उद्धार सम्पन्न गर्ने तयारी गरिरहेका छन्।

यसैबीच पोखराबाट सशस्त्र प्रहरी बलको विशेष खोज तथा उद्धार टोली पनि घटनास्थल पुगिसकेको छ। स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षाकर्मीको समन्वयमा तीनै युवालाई सकुशल सुरक्षित स्थानमा ल्याउने अन्तिम प्रयास जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। लामो समय जंगलमा अलपत्र परे पनि उनीहरू सकुशल फेला परेकाले परिवार, स्थानीयवासी र उद्धार टोलीमा राहतको अनुभूति भएको छ।



This will close in 20 seconds