पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरास्थित फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।
देशमा परेको विपद्का बेला पीडित तथा प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको फिस्टेल हस्पिटलका संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनु भयो ।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भइरहेका बेला राहत, उद्धार र उपचारका लागि आफुहरुले पनि सरकारको अभियानमा साथ दिएको उहाँले जनाउनु भयो । हस्पिटलले भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

फिस्टेल हस्पिटलले जलविद्युत आयोजनाका केही सुरुङमार्गमा बाढी तथा पहिरोका कारण फसेकाहरूको तत्काल उद्धार गर्न सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेको छ। भदौ १० गते आएको विनाशकारी बाढी तथा त्यसपछिको विपद्का कारण ठूलो जनधनको क्षति भएको छ। हालसम्म ८ सयभन्दा बढी शव फेला परेको र एक हजार भन्दा बढी व्यक्ति बेपत्ता रहेको बताइएको छ। विपद्को प्रभाव अझै कायमै रहेकाले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ। फिस्टेल हस्पिटल कलेजले विपद्को यस कठिन घडीमा पीडित परिवार, घाइते तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो तर्फबाट सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।