
पोखरा, १५, भदौं,
विश्वकै पूरानो ब्राण्ड रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशमा आफ्नो बजार उपस्थिति थप विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको शोरुमको सोमबार एक कार्यक्रमबीच अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले औपचारिक उद्घाटन गर्नुभयो।

पोखरा क्षेत्रको आधिकारिक बिक्रेता क्लासिक ड्राइभले सञ्चालनमा ल्याएको नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकलप्रेमीलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ अनुभव अझ नजिकबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ। नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि हो। नयाँ शोरुमको नेतृत्व अटो व्यवसायी शिशिर सुबेदी र प्रमेश पराजुलीले गर्नुभएको छ। उहाँहरू पोखराको अटोमोबाइल व्यवसायमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्छ। साथै, पोखराको आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत उहाँहरूको स्थापित व्यावसायिक पहिचान रहेको छ।
लामो व्यावसायिक अनुभव, स्थानीय बजारको गहिरो बुझाइ तथा प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिका कारण नयाँ शोरुमले पोखरामा रोयल इन्फिल्डको ग्राहक अनुभवलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। १ हजार ३ सय वर्गफिट क्षेत्रफलमा फैलिएको शोरुमलाई ग्राहकलाई प्रिमियम र सहज अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ। शोरुममा रोयल इन्फिल्डका मोटरसाइकल अवलोकन गर्नुका साथै तिनको विशेषता र डिजाइनबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ। शोरुमसँगै ३ हजार ५ सय वर्गफिट क्षेत्रफलमा सेवा केन्द्र पनि सञ्चालनमा ल्याइएको छ। सेवा केन्द्रमार्फत रोयल इन्फिल्डका ग्राहकलाई नियमित मर्मतसम्भार, प्राविधिक सेवा तथा बिक्रीपछिको सेवा सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
धार्मिक विधिबाट शुभारम्भ
शोरुम उद्घाटन समारोहको सुरुवात आठ जना बटुकद्वारा शान्ति स्वस्ति पाठबाट गरिएको थियो। त्यसपछि शोरुम परिसरमा पवित्र जल छर्केर धार्मिक विधिबाट शोरुमको शुभारम्भ गरिएको थियो। देशमा शान्ति, स्थायित्व, समृद्धि र सकारात्मक वातावरण कायम रहोस् भन्ने कामनासहित गरिएको प्रार्थनाले नयाँ शोरुमको उद्घाटनलाई विशेष बनाएको थियो।
गोर्खा एडिसनको विशेष अनावरण
उद्घाटन समारोहको अर्को प्रमुख आकर्षणका रूपमा रोयल इन्फिल्ड गोर्खा एडिसन मोटरसाइकलको विशेष अनावरण गरिएको थियो। उक्त मोटरसाइकलको अनावरण अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गर्नुभएको हो। गोर्खा एडिसनले गोर्खा योद्धाहरूको साहस, वीरता, गौरव र समर्पणको भावनालाई सम्मान गर्ने अवधारणा बोकेको छ। पोखरामा नयाँ शोरुमको उद्घाटनसँगै गोर्खा एडिसन सार्वजनिक हुनु समारोहको विशेष आकर्षण बनेको थियो। गोर्खा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नयाँबजारस्थित शोरुमले पोखरा तथा आसपासका क्षेत्रका ग्राहक र राइडरलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ संस्कृतिसँग अझ नजिकबाट जोड्ने अपेक्षा गरिएको छ। ग्राहक अनुभव, गुणस्तरीय बिक्रीपछिको सेवा र ८८‘पियोर मोटरसाइकलिङ’८८को भावनालाई केन्द्रमा राख्दै नयाँ शोरुमले पोखराको मोटरसाइकलिङ समुदायमा आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्य राखेको छ।
विश्वकै पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड
रोयल इन्फिल्ड सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको विश्वकै पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो। विशिष्ट डिजाइन, कालजयी पहिचान र ‘पियोर मोटरसाइकलिङ’को मौलिक अवधारणाका कारण रोयल इन्फिल्डले विश्वभर राइडरहरूको बलियो समुदाय निर्माण गरेको छ। नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि रहेको छ।





