पृथ्वीराजमार्ग बसपार्क अगाडि अब जथाभावी पार्किङ गर्न नपाइने, सबै बस बसपार्कबाटै सञ्चालन हुने

-


     पोखरा क्लिक     
     श्रावण २६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २६, साउन,

पोखराको पृथ्वीचोक क्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु भएको छ । पोखरा बसपार्क निर्माणका लागि बसपार्कभित्र रहेका केही संरचना हटाइएसँगै अब पृथ्बीचोक क्षेत्रका पृथ्वीराजमार्गको सडक तथा फुटपाथमा हुने जथाभावी पार्किङ र यात्रु चढाउने–ओराल्ने कार्यलाई पूर्ण रूपमा रोक्ने अभियान आजबाट सुरु भएको हो ।

अब पृथ्वीचोक हुँदै पोखरा भित्रिने तथा बाहिरिने सार्वजनिक सवारीसाधनले सडक र फुटपाथबाट यात्रु चढाउने–ओराल्ने पाउने छैनन् । सबै बसले पोखरा बसपार्कभित्रैबाट यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाइने भएको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले पोखरा प्रवेश गर्नेबित्तिकै देखिने अव्यवस्थित यातायातको अवस्था अन्त्य गरी पृथ्वीचोकलाई व्यवस्थित र सुन्दर बनाउन आफूहरू फिल्डमै खटिएको बताउनु भयो । अब यस अभियानलाई निरन्तरता दिने बताउदै उहाँले सडक तथा फुटपाथमा सवारी पार्किङ गर्ने, यात्रु चढाउने–ओराल्ने तथा तोकिएको व्यवस्थाविपरीत सवारी सञ्चालन गर्ने कार्यलाई कारबाहीको दायरामा ल्याइने जनाउनु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पृथ्वीचोक क्षेत्रमा सडक र फुटपाथमा हुने जथाभावी पार्किङ अब स्थायी रूपमा हटाउने दाबी गर्नुभयो । पर्यटकीय नगरी पोखराको प्रवेशद्वार पृथ्वीचोकलाई व्यवस्थित बनाउन जनपथ प्रहरी, ट्राफिक प्रहरी, महानगर प्रहरी र यातायात व्यवसायीको संयुक्त निगरानी आवश्यक रहेको बताउनु भयो । अब बसपार्कभित्रबाटै यात्रु चढ्ने–ओर्लने व्यवस्था हुने र बाहिर रहेका टिकट काउन्टरसमेत बसपार्कभित्रै सञ्चालन गर्नुपर्ने उहाँले जनाउनु भयो । तर, बसपार्कभित्र केही स्थानमा खाल्डाखुल्डी तथा हिलोको समस्या रहेकाले त्यसको तत्काल मर्मतसम्भार गरी यात्रुमैत्री बनाउन महानगरपालिकालाई आग्रह गरिएको उहाँले जनाउनु भयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एनकुमार शाहीले पृथ्वीचोकको यातायात व्यवस्थापन सुधार गर्ने अभियान महासंघको अगुवाइमा विभिन्न संघ संस्था तथा सुरक्षा निकायको समन्वयमा अघि बढाइएको बताउनु भयो । आफू पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षसमेत भएकाले अभियानमा भूमिका निर्वाह गरिरहेको भए पनि यो कुनै एक व्यक्ति वा संस्थाको मात्र प्रयास नभई सबै सरोकारवाला निकायको समन्वयमा अघि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । “महासंघ गण्डकी प्रदेशले सबैलाई सन्तुलन मिलाएर काम गर्ने हो । हामीले बाहिर रहेका आफ्ना काउन्टरसमेत बसपार्कभित्र सारेका छौँ । फुटपाथ तथा सडकमा हुने पार्किङ नियन्त्रण गर्दै बसपार्कभित्रबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने अभियानमा नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पोखरा महानगरपालिका, यातायात व्यवसायी तथा मजदुर संगठन लगायत सरोकारवाला निकायबीच समन्वय गरिएको छ । अभियानको पहिलो चरणमा पृथ्वीचोकको फुटपाथ तथा सडक क्षेत्रमा रहेका सवारीसाधनलाई बसपार्कभित्र सारेर क्षेत्र खाली गरिएको छ । सडक र फुटपाथलाई पैदलयात्रु तथा व्यवस्थित यातायात सञ्चालनका लागि प्रयोग गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव अर्जुन पोडेलले पृथ्वीचोकमा यात्रु तानातान गर्ने तथा सडक र फुटपाथमा सवारी राख्ने पुरानो अवस्थाको अन्त्य गर्न अभियान अघि बढाइएको बताउनु भयो । पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले सडक तथा फुटपाथ व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो । अभियानलाई केही दिनको कार्यक्रमका रूपमा नभई निरन्तरता दिनुपर्नेमा उहाँको जोड थियो । यसैबिच, पृथ्बीचोक क्षेत्रमा निकै अस्तव्यस्त टिकट काउण्टरहरु माइक्रो बस देखि लामोदुरीका बसहरु समेत सडक र फुटपाथबाटै छुट्ने हँुदा त्यसलाई ब्यबस्थित पार्न बसपार्कबाटै बसहरु लैजान पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । पोखराको व्यवस्त बजारमा जथभावी सडक र फुटपाथमा सवारी साधन रोक्नमा अब पूर्ण रुपमा रोक लगाउने उहाँले जनाउनु भयो । अध्यक्ष मर्सानीले बसपार्कको सम्पूर्ण क्षेत्र खाली गराउने योजना रहेको बताउनु भयो । बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापनको कामसमेत अघि बढाइएको उहाँको भनाई छ । महानगरका अनुसार बसपार्क क्षेत्रमा रहेका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भएको छ । बाँकी परिवारको समेत विवरण प्रमाणीकरणको काम अघि बढिरहेको महानगरले जनाएको छ ।

पृथ्वीचोकका स्थानीय अगुवा तथा फोटो पत्रकार सुर्दशन रञ्जितले विगतमा पनि पृथ्वीचोकलाई व्यवस्थित गर्ने प्रयास भए पनि निरन्तरता नपाएको गुनासो गर्नुभयो । यसपटक भने सडक तथा फुटपाथलाई व्यवस्थित राख्न निरन्तर निगरानी आवश्यक रहेको उहाँको भनाइ छ । “फुटपाथ फुटपाथकै रूपमा प्रयोग हुनुपर्छ । सडकमा जथाभावी पार्किङ र यात्रु चढाउने–ओराल्ने काम रोकिएपछि पृथ्वीचोकको स्वरूप नै परिवर्तन हुन्छ,” उहाँले भन्नुभयो । पोखरा महानगरपालिकाले प्रस्तावित बसपार्क निर्माणका लागि बसपार्क क्षेत्रमा रहेका संरचना हटाउने कामलाई समेत तीव्रता दिएको छ । पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्सका करिब ३२० सटरसहितका संरचना महानगरपालिकाले हटाइसकेको छ । महानगरपालिका र जग्गाधनीबीच भएको सहमतिअनुसार व्यवसायीले सटर खाली गरेपछि महानगरले डोजर प्रयोग गरी संरचना हटाएको हो । पोखरामा बस ओर्लिने र झार्ने निश्चित ठाँउ बाहेक अन्य ठाँउमा बस नरोक्न महानगरले आग्रह गर्दै आएको छ ।