पोखरा–२३ बाम्दीमा वन डढेलो नियन्त्रण सिकाउँदै अष्ट्रेलियाली अग्नि नियन्त्रण विज्ञ

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८३ मा प्रकाशित


पोखरा, मंसिर ११,

वन डढेलो तथा आगलागीका घटना नियन्त्रण गरी मानवीय, भौतिक र वातावरणीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२३ को बाम्दीमा अग्नि नियन्त्रण तथा वन डढेलो व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । अष्ट्रेलियाको अग्नि नियन्त्रण सेवामा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका विज्ञ रोब म्याकभी र बेन स्मिटले स्थानीय समुदायका प्रतिनिधिलाई अग्नि नियन्त्रणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नुभएको हो । दुवै जना फायर एड यूकेका स्वयंसेवकसमेत हुनुहुन्छ ।

जौछहरे डाँडाखर्क बिरिम सामुदायिक वनका अध्यक्ष तथा ब्याक टु नेचरका निर्देशक डम्बर पुनको आयोजनामा भएको सो तालिममा पोखरा महानगरपालिका–२३ का २२ वटा सामुदायिक वनका प्रतिनिधि, विभिन्न समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाको सहभागिता थियो । तालिममा वडा नं। २३ को सामुदायिक वन उपभोक्ता महासंघ र पञ्चासे वन संरक्षण क्षेत्रका प्रतिनिधिसमेत सहभागी हुनुभएको थियो । तालिममा आगलागीका कारण, आगो फैलिने प्रक्रिया, नियन्त्रणका उपाय तथा प्रभावकारी अग्नि नियन्त्रणका लागि आवश्यक प्राविधिक ज्ञानबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणका क्रममा आगो लाग्न र बलिरहन आवश्यक पर्ने तीन आधारभूत तत्व इन्धन, ताप र अक्सिजनबारे जानकारी दिइएको थियो । यीमध्ये कुनै एक तत्वको उपलब्धता हटाउन वा घटाउन सके आगो नियन्त्रण गर्न सकिने वैज्ञानिक सिद्धान्तबारे प्रशिक्षकहरूले स्पष्ट पार्नुभएको थियो ।काठ, दाउरा, कागज, कपडा, पेट्रोल, डिजेल, प्लास्टिक तथा वन क्षेत्रमा पाइने सुकेका पात, घाँस र हाँगाबिँगालाई आगो फैलाउन सहयोग गर्ने इन्धनका रूपमा व्याख्या गरिएको थियो । त्यस्तै, इन्धनलाई प्रज्वलन हुने तापक्रमसम्म पु¥याउन ताप आवश्यक पर्ने र दहन प्रक्रियालाई निरन्तरता दिन हावामा रहेको अक्सिजनको भूमिका रहने जानकारी दिइएको थियो । सामान्य वायुमण्डलमा करिब २१ प्रतिशत अक्सिजन रहने तथ्यसमेत सहभागीलाई अवगत गराइएको थियो ।

वन डढेलो नियन्त्रणका लागि सुकेका पातपतिङ्गर तथा झाडी व्यवस्थापन गर्ने, अग्निरेखा निर्माण गर्ने र सुरक्षित रूपमा पानीको प्रयोग गरी आगोको तापक्रम घटाउने उपायबारे पनि प्रशिक्षण दिइएको थियो । आगो नियन्त्रण गर्दा ताप घटाउने, अक्सिजनको आपूर्ति सीमित गर्ने वा प्रज्वलनशील पदार्थ हटाउने उपाय प्रभावकारी हुने प्रशिक्षकहरूले बताउनुभएको थियो । पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष रामकाजी गुरुङले तालिमले स्थानीय समुदायको अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगलागीका कारण र नियन्त्रणका वैज्ञानिक उपायबारे समुदायमा जनचेतना अभिवृद्धि हुनु कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । जौछहरे डाँडाखर्क बिरिम सामुदायिक वनका अध्यक्ष तथा ब्याक टु नेचरका निर्देशक पुनले स्थानीयस्तरमै अग्नि नियन्त्रणसम्बन्धी ज्ञान, सीप र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको बताउनुभयो । यसबारेमा अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले यस्ता तालिमले सामुदायिक वनको संरक्षण तथा विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका थप प्रभावकारी बनाउने बताउनुभयो । प्रशिक्षक रोब म्याकभीले नेपालमा आएर स्थानीय समुदायलाई अग्नि नियन्त्रणसम्बन्धी तालिम प्रदान गर्न पाउनु आफ्ना लागि नयाँ र सुखद अनुभव भएको बताउनुभयो । स्थानीय विद्यार्थी तथा सामुदायिक वनका सदस्यसँग आफ्नो अनुभव, ज्ञान र सीप आदानप्रदान गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।

आगामी दिनमा अझ उन्नतस्तरका अग्नि नियन्त्रण तालिम सञ्चालन गरी आफ्नो अनुभव थप समुदायसम्म पु¥याउने इच्छा रहेको उहाँले बताउनुभयो । तालिम सञ्चालनको अवसर प्रदान गरेकोमा आयोजक डम्बर पुनलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने चाहना व्यक्त गर्नुभयो । अर्का प्रशिक्षक बेन स्मिटले सामुदायिक वन र स्थानीय सरकारसँगको सहकार्यमा स्थानीय समुदायलाई अग्नि नियन्त्रणसम्बन्धी अनुभव बाँड्न पाउँदा खुसी लागेको बताउनुभयो । समुदायको सक्रिय सहभागिता र क्षमता विकासबाट वन डढेलो तथा अन्य आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।