विपद्का बेला राज्यको अभियानमा साथ दिँदै टुरिजम कलेज, पालिखे नेतृत्व ३ संस्थाबाट ६ लाख ६६ हजार सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १५, भदौं,

देशमा परेको प्राकृतिक विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा साथ दिँदै पोखरास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, छिनेडाँडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोलगायत प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले कलेजले उक्त रकम प्रदान गरेको कलेजका अध्यक्ष अशोक पालिखेले बताउनु भयो ।

विपद्को यस कठिन घडीमा पीडित तथा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै कलेजको तर्फबाट राहत तथा उद्धार अभियानमा सहयोग गरिएको उहाँले उल्लेख गर्नु भयो । उहाँले कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै विपद्का बेला राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानलाई निजी क्षेत्र तथा शैक्षिक संस्थाहरूले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो।

“देश अप्ठ्यारो अवस्थामा रहेका बेला पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो सामाजिक उत्तरदायित्व हो। सहयोग रकम सानो–ठूलोभन्दा पनि विपद्का बेला एकजुट भएर पीडितको साथमा उभिनु महत्वपूर्ण हुन्छ,” अध्यक्ष पालिखेले भन्नुभयो। कलेजले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै खोजी, उद्धार, उपचार तथा पुनःस्थापनाका लागि राज्यका सम्बन्धित निकायबाट भइरहेका प्रयासमा आफ्नो सहयोगले केही भए पनि टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले पर्यटन तथा आतिथ्य व्यवस्थापन शिक्षाका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताउनु भयो ।

यसैबीच, पोखरास्थित कुमुदिनी होम्सले पनि विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। संस्थापक अध्यक्ष अशोक पालिखेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत राज्यको राहत तथा उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उल्लेख गर्नुभयो । त्यसैगरी, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरिसकेको छ। पालिखे नेतृत्वमा रहेका ३ वटा संस्थाबाट कुल ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग भएको छ।