
दीननाथ बराल,
गण्डकी प्रदेश सरकारले आफनो स्थापना दिवस मनाइरहदा संयोगले एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ वगरकी ३८ वर्षिय तुलसा घर्ती बुढा थोकी हिजो देखि सुत्केरी व्यथाले च्याप्दा सुत्केरी हुन नसकेपनि आज (शुक्रबार) विहान हेलिकप्टर (हेयरलिफ्टीङ) बाट उद्धार गरिएको प्रदेश सरकारले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) पोखरामा उहाँको भ्याकुम प्रविधिको प्रयोग गरी शिशुको जन्म भएको अस्पताल श्रोतले जनाएको छ । हाल आमा र शिशुको अवस्था सामान्य अवस्थामा रहेको उपचारमा सँलग्न डाक्टर पुनम पाठकले बताउनु भयो । यसैबिच, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुसिला सिँखडाले हेलिकप्टरबाट उद्धार गरेर अस्पताल आउनु भएको महिला बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा बढी सचेत हुन चिकित्सकलाई आग्रह गर्नु भयो । सुत्केरी आमा र शिशुको अबस्थामा सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । मन्त्री सिंखडाले विहानै ६ः०० बजे नै हेलिकोप्टरको व्यबस्थापनमा सहजीकरण गर्नु भएको थियो ।
गण्डकी प्रदेश स्थापना दिवसको कार्यक्रम चलिरहँदा बुढाथोकी सन्तान जन्माएको खबर सार्वजनिक गरिएको थियो । त्यसलगतै गण्डकी विश्व विद्यालयको कार्यक्रम सकेर मन्त्री सिँखडा अस्पतालमा पुगेर आमा र शिशुको अवस्थाको बारेमा जानकारी लिदै कुनै अप्ठ्रो परे प्रदेश सरकार तयार रहेको बताउनु भएको थियो ।
मन्त्री सिँखडाले जटिल अवस्थामा अस्पताल आएकी गर्भवती महिलाको उपचारमा सलग्न चिकित्सकको टोलीलाइ बिषेश धन्यवाद दिदै जटील अवस्थामा मानिसहरुको ज्यान जोगाउन सक्नु मानविय धर्म भएको उहाँको भनाई थियो । बच्चाको तौल ३.५ किलोग्राम रहेको बताइएको छ ।
प्रेसर सहितको रोगको कारण केही दिन अघि उहाँका श्रीमान लिल बहादुर बुढाथोकीको मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । बुढाथोकीले नावालाक छोरालाई जन्म दिएको बताउदै उहाँका नन्दभाइ टिका घर्ती मगरले उहाँका दुइ छोरीहरु रहेको उल्लेख गर्नु भयो । प्रदेश सरकारले गरिब तथा विपन्न बर्गका एवं दुर्गम क्षेत्रका समुदायका महिलाहरुलाई यस्ता समस्यामा पर्दा हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ । हालसम्म प्रदेश सरकारले ६५ जनाको यसरीले हेलिकोप्टरबाट उद्धार गरेको छ ।



