
पोखरा,
माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ को नतिजामा कास्कीको बालमन्दिर माध्यमिक विद्यालय तथा संस्थागततर्फ लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल जिल्ला प्रथम बन्न सफल भएका छन् । गत वर्षको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै सामुदायिकतर्फ पोखरा ३ नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालय तथा संस्थागततर्फ लामाचौरको गण्डकी बोर्डिङ स्कुल जिल्ला प्रथम हुन सफल भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जनाएको छ ।

कम्तीमा ५० जना विद्यार्थी सहभागी भएका विद्यालयको औसत जिपिएलाई आधार मानेर नतिजा विश्लेषण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यकले बताउनु भयो । सोही आधारमा गण्डकी बोर्डिङले ३ दशमलब ७४ औसत जिपिएसहित निजी विद्यालयतर्फ शीर्ष स्थान हासिल गरेको छ भने बालमन्दिर माविले ३ दशमलब ३४ औसत जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ अग्रस्थान यस बर्ष पनि रहन सफल भएको हो । गण्डकी बोर्डिङबाट सहभागी १ सय २० विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् । विद्यालयबाट पाँच जनाले ४.० जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल विश्वयुधीर पौडेल घर्तीले शिक्षकहरूको मेहनत, विद्यार्थीको अनुशासन र अभिभावकको सहयोगकै कारण विद्यालयले उत्कृष्ट नतिजा दिन सफल भएको प्रतिक्रिया दिनुभयो । निजीतर्फ मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालय दोस्रो बनेको छ । विद्यालयको औसत जिपिए ३ दशमलब ७२ रहेको छ । मदरल्याण्डबाट १२ जनाले ४.० जिपिए ल्याएका छन् । यस्तै बिरौटास्थित शिशु निकेतन मावि ३ दशमलब ६२ औसत जिपिएसहित तेस्रो स्थानमा रहेको छ ।
यसैबिच, सामुदायिक विद्यालयतर्फ बालमन्दिरपछि बाटुलेचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालय दोस्रो स्थानमा रहेको छ । विद्यालयको औसत जिपिए ३ दशमलब २१ रहेको छ । भर्जुङखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालय ३ दशमलब ०९ औसत जिपिएसहित तेस्रो हुन सफल भयो । बालमन्दिरका प्र.अ.शुसिल बहादुर बस्नेतले बिद्यालयका सबैले राम्रो गर्दा बिद्यालय विगत लामो समयदेखि उत्कउष्ट नतिजा हासिल गर्न सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, हामीले यसमा कुनै भयङकर केही गरेका छैनौं, हामीले थोरै मेहनत गर्दा अन्यको तुलनामा राम्रो भएको पनि ुहन सक्छ, हाम्रो टिम स्प्रिट छ, सबै एक जुट छौं त्यसको परिणाम हो जस्तो लाग्छ । ” यस अघि पनि कास्कीमा उत्कृष्ट नतिजा ल्याउको बालमन्दिरले २०७० र ०२०७४ सालको एसईईमा गण्डकी प्रदेशमै उत्कृष्ट भएको प्र.अ.बस्नेतले स्मरण गर्नु हुन्छ ।
यसैबीच, थोरै विद्यार्थी सहभागी भएका विद्यालयमध्ये काहुँस्थित कालिका माध्यमिक विद्यालयको नतिजा उल्लेखनीय देखिएको छ । विद्यालयबाट सहभागी १३ जनामध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने औसत जिपिए ३ दशमलब ४४ रहेको छ ।
कास्कीमा यस वर्ष ६५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन् । जिल्लाको समग्र ग्रेडेड प्रतिशत ८१ दशमलब ७५ रहेको छ भने १८ दशमलब २५ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । सामुदायिक विद्यालयतर्फ ७१ प्रतिशत तथा संस्थागत विद्यालयतर्फ ९० प्रतिशत नतिजा आएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । प्रमुख आचार्यका अनुसार पछिल्ला तीन वर्षदेखि कास्कीको एसइई नतिजा स्थिर र सन्तोषजनक रहँदै आएको छ । उहाँले विद्यालयहरूको शैक्षिक प्रतिस्पर्धाले समग्र शिक्षाको गुणस्तर सुधारमा टेवा पुगेको बताउनु भयो ।






