
पोखरा,
नेपाल भूतपूर्व खेलाडी मञ्चले नेपाली खेलकुद क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका स्वर्गीय सरद चन्द्र शाहलाई मरणोप्रान्त सम्मान अर्पण गर्ने भएको छ । मञ्चको हालै सम्पन्न पूर्ण बैठकले उक्त निर्णय गरेको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले बताउनु भयो ।
यही वैशाख ८ गते मंगलबार कार्की डाँडामा आयोजना हुने विशेष समारोहका बीच स्वर्गीय शाहलाई सम्मान अर्पण गरिने भएको हो भने उक्त अवसरमा उहाँका परिवारजनलाई नगद रु। १ लाख, पदक तथा सम्मानपत्र प्रदान गरिने भएको उहाँले जनाउनु भयो । स्वर्गीय शाहले २०३४ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रूपमा रही महत्वपूर्ण योगदान दिनुभएको थियो। उहाँको कार्यकाललाई नेपाली खेलकुदको इतिहासमा ‘स्वर्ण युग’का रूपमा लिइन्छ। खेलकुदलाई संस्थागत र चलायमान बनाउन उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता, नगर खेलकुद प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको परिकल्पना गरी कार्यान्वयनमा ल्याउनुभएको थियो।
मञ्चले उहाँको योगदानलाई उच्च मूल्यांकन गर्दै संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफारिस अनुमोदन गरेको जनाएको छ । साथै, राष्ट्रिय खेलकुद पुरस्कारको नगद राशि रु १ लाख रानाभाटद्वारा आजीवन प्रायोजन गर्ने घोषणा गरिएकोमा मञ्चले आभार व्यक्त गरेको छ । उक्त समारोहकै अवसरमा मञ्चको रजत महोत्सव समापन, पुनर्मिलन कार्यक्रम तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समेत गरिनेछ। मञ्चले राष्ट्रिय खेलकुद पुरस्कार हरेक दुई वर्षमा वितरण गर्ने निर्णय समेत गरेको छ।
यसैबीच, मञ्चका निवर्तमान अध्यक्ष तथा भलिबलका अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली प्रदेश खेलकुद परिषद्को सल्लाहकार संयोजक पदमा मनोनीत हुनुभएकोमा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।पोखरा म्याराथनको आयोजक संस्था नेपाल नेपाल भूतपूर्व खेलाडी मञ्चले विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाउदै गरेको छ ।




