
पोखरा,
पोखरा महानगरपालिका–गैह्रापाटनस्थित पोखरा थिएटर को गन्धर्व नाटकघर यतिबेला गम्भीर सामाजिक सन्देश बोकेको नाट्य प्रस्तुतिले दर्शक तानिरहेको छ । सोसल पब्लिक स्कुलका विद्यार्थीहरूले सुप्रसिद्ध नाटककार विजय मल्ल को कालजयी कृति ‘कोही किन बर्बाद होस्’ मञ्चन गर्दै आमाबाबुको महत्व, बाल मनोविज्ञान र शिक्षण पद्धतिमाथि गहिरो प्रश्न उठाएका छन्।
विद्यालयस्तरका कलाकारहरूले प्रस्तुत गरेको नाटकले विशेषगरी आमाको माया, अभिभावकीय भूमिका र बालबालिकाको भावनात्मक अवस्थालाई केन्द्रमा राख्दै समाजलाई संवेदनशील सन्देश दिएको छ। नाटकमा देखाइएको कडा अनुशासन, बेवास्ता र गलत व्यवहारले बालबालिकाको मनोविज्ञानमा पार्ने असरलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । विद्यार्थी कलाकारहरू रोशनी श्रेष्ठ, गुन्जन नेपाली, श्रेयस गुरुङ, प्रतीक गुरुङ, संयोग गुरुङ, एरिजोना मगर, सृष्टि राजबंशी, रचित बसेल र अपिल विकले आफ्नो अभिनयमार्फत पात्रहरूलाई जीवन्त बनाएका छन्। उनीहरूको प्रस्तुति हेर्दा उनीहरू विद्यालयस्तरका कलाकार हुन् भन्ने अनुभूति नै नहुने गरी परिपक्व अभिनय देखिएको दर्शकहरूको प्रतिक्रिया थियो।
नाटकले “कोही पनि मान्छे जन्मदै बर्बाद हुँदैन, परिस्थिति र व्यवहारले उसलाई त्यस्तो बनाउँछ” भन्ने सशक्त सन्देश दिएको छ। विशेषगरी आमाबाबुको माया, मार्गदर्शन र समझदारी अभाव हुँदा बालबालिकाको जीवन कस्तो मोडमा पुग्न सक्छ भन्ने पक्षलाई नाटकले प्रभावकारी रूपमा उजागर गरेको छ । सोसल पब्लिक स्कुलका संस्थापक निर्देशक खिम गुरुङ ले विद्यालय शिक्षालाई व्यवहारिक र सिर्जनात्मक बनाउने उद्देश्यले नाटक मञ्चन गरिएको बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै जीवन बुझ्ने दृष्टिकोण विकास हुने धारणा राख्नुभयो। अग्रज साहित्यकार सरुभक्त श्रेष्ठ ले यस्ता नाटकहरूले विद्यार्थीहरूलाई समाज, परिवार र आमाबाबुको महत्व बुझाउन ठूलो भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार अहिलेको डिजिटल युगमा पारिवारिक सम्बन्ध कमजोर हुँदै गइरहेको अवस्थामा यस्ता प्रस्तुतिहरू झनै आवश्यक छन्।
दुई वर्षअघि मञ्चन भइसकेको यो नाटक पुनः दर्शकमाझ प्रस्तुत गरिएको हो। विद्यालयले यसलाई निरन्तरता दिँदै आगामी दिनमा अन्य सन्देशमूलक नाटकहरू पनि मञ्चन गर्ने योजना बनाएको जनाएको छ। उक्त नाटक भोलि र पर्सि पनि गन्धर्व नाटकघरमा मञ्चन हुने आयोजकले जानकारी दिएका छन्, जसले अझ बढी दर्शकलाई यो सशक्त सन्देशसँग जोड्ने विश्वास लिइएको छ।




