
काठमाडौं,
देशमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै बालेन्द्र शाह को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले आज शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि शपथ गराउनुभएको हो।

नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्रीमा सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा पोखराका गनेस पौडेल नियुक्त भएसँगै पर्यटन क्षेत्रले नयाँ नेतृत्व पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा डा. विक्रम तिमिल्सिना, सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीमा प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा पशुपक्षी एवं वन तथा वातावरणमन्त्रीमा गीता चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डा.दीपक साह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहनुभएको छ ।

रक्षा तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले नै सम्हाल्नुभएको छ। शपथ ग्रहण समारोहलाई सांस्कृतिक रूपमा विशेष बनाइएको थियो। हिन्दू परम्पराअनुसार १०८ बटुकद्वारा स्वस्ति वाचन र बौद्ध परम्पराअनुसार १०७ भिक्षुद्वारा अष्टमंगल पाठ गरिएको थियो। साथै मिथिला र किराती संस्कृतिका प्रतीकहरूको प्रदर्शनमार्फत नेपालको बहुसांस्कृतिक पहिचान झल्काइएको थियो। र्यापरबाट राजनीतिमा उदायनु भएको प्रधानमन्त्री शाहको उदयलाई विशेषगरी नयाँ पुस्ताको परिवर्तनको संकेतका रूपमा हेरिएको छ । प्रधानमन्त्री शाहले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय जित हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो। यसअघि काठमाडौं महानगरपालिका का मेयर रहनुभएका उहाँले जनसमर्थनका आधारमा संघीय राजनीतिमा प्रभावशाली उपस्थिति देखाउनुभएको छ। नयाँ सरकार गठनसँगै देशमा सुशासन, विकास र परिवर्तनप्रति जनअपेक्षा बढेको छ।



