वडा स्तरीय कृषि सञ्जाल पोखरा–६ बैदामद्वारा २ सय ६० कृषकलाई बिउ र २ हजार केजी गड्यौला मल वितरण

-


     पोखरा क्लिक     
     माघ ११ गते २०८२ मा प्रकाशित


पोखरा, माघ ११,

वडा स्तरीय कृषि सञ्जाल पोखरा–६ बैदामको समन्वयमा मल, बिउ वितरण तथा कृषक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ सय ६० जना कृषकलाई विभिन्न प्रकारका बिउ तथा २ हजार केजी गड्यौला मल वितरण गरिएको हो ।

किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा स्तरीय कृषि सञ्जाल बैदामकी अध्यक्ष बिन्दा धरेलले जानकारी दिइन् । पोखरा महानगरपालिकाको प्राविधिक सहयोग तथा वडा कार्यालय पोखरा–६ बैदामको आर्थिक सहयोगमा कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं–६ बैदामका अध्यक्ष विष्णुबहादुर भट्टराईले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगेको उल्लेख गर्दै गड्यौला मलले जमिनलाई पुनः उर्वर बनाउने भएकाले स्वस्थ वातावरण निर्माणमा यसको महत्वपूर्ण भूमिका रहने बताए । उनले कुहिने फोहोरलाई अर्गानिक कम्पोस्ट मलमा रूपान्तरण गर्ने उद्देश्य वडाले लिएको जानकारी समेत दिए ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले उपस्थित कृषकहरूलाई जैविक कृषि प्रणाली र गड्यौला मल उत्पादनसम्बन्धी प्रशिक्षण दिँदै महानगरपालिकाले आवश्यक सामग्री तथा तालिम निःशुल्क उपलब्ध गराउँदै आएको बताए । जैविक मल प्रयोगले दीर्घकालीन रूपमा माटोको स्वास्थ्य जोगिने उनले उल्लेख गरे । वडा नं–६ की वडा सदस्य पवित्रा थापाले वितरण गरिएको मल र बिउलाई उत्पादनमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिन कृषकलाई आग्रह गरिन् । त्यस्तै वडा सदस्य बासु बरालले कृषिमा आत्मनिर्भरता हासिल गर्दै कृषि उपज निर्यात गर्न सके कृषकको समृद्धि सम्भव हुने भन्दै सरकार त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा वडा नं–६ कृषि सञ्जालकी अध्यक्ष तथा सल्लाहकार बबिता मल्लले किसानलाई प्रोत्साहन गर्न र युवालाई कृषि पेशातर्फ आकर्षित गर्न राज्यले कृषि अनुदान बढाउनुपर्ने आवश्यकता औँल्याइन् । वडा नं–९ का वडा स्तरीय कृषि सञ्जाल संयोजक विमला राना भाटले सहज र सुपथ मूल्यमा मल तथा बिउ उपलब्ध गराउन स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । सभाअध्यक्ष बिन्दा धरेलले गड्यौला तथा कम्पोष्ट मल प्रयोगले माटोको उर्वराशक्ति बढ्नुका साथै कम पानीमा पनि सिँचाइ सम्भव हुने भएकाले उत्पादन वृद्धि हुने बताउँदै सबै कृषकलाई जैविक मल प्रयोगतर्फ लाग्न आग्रह गरिन् । सञ्जालकी अध्यक्ष बिन्दा धरेलको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामेश्वर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने सचिव चन्द्रकला घिमिरे पहारी, मणिमार्ग टोल विकास संस्थाका अध्यक्ष महेश्वर पहारी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।