पल्सर स्पोर्ट्स अवार्ड २०८१ लाई रारा चाउचाउको साथ

-


     पोखरा क्लिक     
     पौष १८ गते २०८२ मा प्रकाशित


पोखरा, १८, पुस,

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही पुस २३ गते हुने देशकै प्रतिष्ठित खेलकुद सम्मान कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ लाई पोखराको घरना हिमश्री फुड्स प्रालिको लोकप्रिय ब्रान्ड रारा चाउचाउले साथ दिएको छ । पोखरालाई केन्द्र बनाएर आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायीहरूले सहकार्य गरिरहेका छन्, जसअन्तर्गत हिमश्री फुड्स पनि जोडिएको हो ।

अवार्ड सहकार्य सम्बन्धी सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले हस्ताक्षर गर्नुभएको छ । हिमश्री फुड्सको रारा चाउचाउ विगत २५ वर्षदेखि सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको निरन्तर प्रमुख प्रायोजक रहँदै आएको छ । एउटै संस्थासँग यति लामो समयसम्म निरन्तर प्रायोजन सहकार्य गर्ने यो नेपालकै पहिलो उदाहरण समेत हो । नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्ट्स अवार्डसँगै एनएसजेएफ स्पोर्ट्स समिट पनि आयोजना गर्नेछ । समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाई प्रायोजकका रूपमा यती एयरलाइन्स थपिएको छ । यसैगरी भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा यसअघिका संस्करणझैं १० विधामा अवार्ड प्रदान गरिनेछ । जनमतबाट विजेता चयन हुने पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् । उनीहरूका लागि सामाजिक सञ्जालमा व्यापक चर्चा चलिरहेको छ भने डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि जारी छ । अवार्ड सफल आयोजनाका लागि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको संयोजकत्व र मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाको सहसंयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । काठमाडौं बाहिर पहिलो पटक पोखरामा आयोजना हुन लागेको यस अवार्ड कार्यक्रममा पोखरा महानगरपालिका प्रवर्धकको भूमिकामा रहेको छ ।