
दीननाथ बराल,
पोखरा, ११ असार,
शिक्षा सेवा र विश्वासको क्षेत्र मानिन्छ । तर पछिल्ला वर्षहरूमा सहकारी शैलीमा सदस्य विस्तार गर्दै लगानीकर्ताबाट ठूलो रकम संकलन गर्ने र पछि विवादमा तानिने प्रवृत्ति शिक्षा क्षेत्रमा समेत देखिन थालेको छ । पोखरामा यतिबेला यस्तै एउटा घटनाले धेरैलाई सचेत गराएको छ ।
पोखराको रामघाटस्थित टप्स एजुकेसन फाउण्डेसन प्रा.लि. (टप्स सेकेण्डरी बोर्डिङ स्कुल) का अध्यक्ष बलबहादुर थापा विगत एक सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । विद्यालयको शेयर उपलब्ध गराउने आश्वासनमा विभिन्न व्यक्तिबाट रकम लिएको तर न शेयर हस्तान्तरण गरेको न रकम फिर्ता गरेको आरोपसहित दर्ता भएका उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार असार ५ गते विभिन्न सात वटा निवेदन तथा पक्राउ पुर्जीसम्बन्धी प्रक्रियाका आधारमा थापालाई नियन्त्रणमा लिइएको हो । हालसम्म ३ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको विगो दाबी गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उजुरी दिने सात जनामध्ये एक जनासँग मिलापत्र भइसकेको छ भने थप चार जनासँग मिलापत्रको प्रक्रिया अगाडि बढिरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । केही वर्षअघि व्यवस्थापन परिवर्तन भएर नयाँ समूहको स्वामित्वमा पुगेको टप्स सेकेण्डरी बोर्डिङ स्कुल पोखराको पुरानो र स्थापित शैक्षिक संस्थामध्ये एक मानिन्छ । तर पछिल्लो समय विद्यालयकै शेयर बिक्री गर्ने नाममा रकम संकलन गरिएको विषय बाहिरिएपछि विद्यालयसँग सम्बन्धित अन्य शेयर सदस्य तथा अभिभावक वृत्तमा समेत चासो र चिन्ता बढेको छ ।
पीडितमध्ये एक दिनेश केसीले आफूले करिब डेढ वर्षअघि विद्यालयको शेयर सदस्य बन्ने आशामा ३० लाख रुपैयाँ उपलब्ध गराएको बताए । उनका अनुसार रकम बुझाएको लामो समय बितिसक्दा पनि न शेयर प्राप्त भयो, न रकम नै फिर्ता आयो । “विद्यालयमा लगानी गर्नुस्, शेयर दिन्छु, केही समयमै प्रक्रिया पूरा हुन्छ” भन्ने आश्वासनका आधारमा रकम बुझाएको तर अहिले आफू अन्योलमा परेको केसीको गुनासो छ ।उजुरीकर्ताहरूका अनुसार अध्यक्ष थापाले विद्यालयमा आफ्नो करिब ५० प्रतिशत शेयर रहेको दाबी गर्दै विभिन्न व्यवसायी, उद्योगी तथा सर्वसाधारणलाई विद्यालयको शेयर खरिद गर्न आग्रह गर्ने गरेका थिए । कतिपयलाई रकम फिर्ताको प्रतिबद्धता सहित चेकसमेत उपलब्ध गराइएको बताइन्छ ।
नाम सार्वजनिक नगर्ने शर्तमा एक पीडितले बजारमा ३० जनाभन्दा बढी व्यक्तिबाट ठूलो रकम संकलन गरिएको पोखराक्लिक समक्ष दाबी गरे । यता हिरासतमा रहेका अध्यक्ष थापाले भने प्रहरीसमक्ष आफूले क्रमशः शेयर हस्तान्तरण वा रकम फिर्ता गर्ने प्रयास गरिरहेको बताउँदै आएका स्रोतको भनाइ छ । यद्यपि शिक्षा जस्तो विश्वासमा आधारित क्षेत्रमा देखिएको यो विवादले एउटा गम्भीर प्रश्न भने उठाएको छ । लगानी, शेयर र आकर्षक प्रतिफलका सपनामा रकम संकलन गर्ने प्रवृत्तिमाथि समयमै निगरानी नहुँदा यस्ता विवादहरू किन दोहोरि रहेछन् । पोखरामा अहिले यही प्रश्नको उत्तर खोजिँदै छ । फोटो एआई जेनेरेटेड






