
पोखरा, वैशाख २७,
पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै टिम उत्कृट बनेको छ । विभिन्न विद्यालयका ४७ वटा टिमले प्रतिश्पर्धाका लागि सहभागिता जनाएकोमा मदरल्याण्डका सार्थक अधिकारी, संकल्प पौडेल र सुरज पौडेलको टिम प्रथम भएको हो ।
म्याथ काउन्सिलले एकमहिना अघि आयोजना गरेको गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै यही टिम राष्ट्रियस्तरमै च्याम्पियन बनेको थियो । काउन्सिलले एकमहिना अघि सातै प्रदेशमा प्रतियोगिता आयोजना गरेर अन्तिम प्रतिश्पर्धा काठमाडौंमा गरेको थियो । मदरल्याण्डले आयोजना गरेको प्रदेशस्तरीय प्रतिश्पर्धामा न्यू मोडल बोर्डिङ स्कुलका अनिज पोखरेल र प्रियान्सु अधिकारीको टिम द्वितीय भएको छ । त्यस्तै भास्कर माविका उत्सभ शर्मा र अर्पन कट्टेलको जोडि तृतीय भएको छ । सान्त्वना पुरस्कार पाउनेमा ग्लोबल कलिजियटका आर्या हमाल र प्रनव भट्टराईको टिम बनेको छ । यी बाहेक पोखराकै एसओएस बोर्डिङ र गण्डकी बोर्डिङ स्कुल (जिबिएस) ले पनि अन्तिम ६ भित्र प्रतिश्पर्धा गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । दोश्रो हुनेले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाएका थिए । मदरल्याण्ड माविका निर्देशक डा. त्रिभुवन शर्मा, विद्यालयका प्राचार्य डा. नारायण बराल, विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्य लगायतले उत्कृष्ट टिमलाई पुरस्कार प्रदान गरेका थिए ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको थियो । विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो ।
विद्यार्थीमा गणित शिक्षाको ज्ञान बढाउँदै परीक्षापछि फुर्सदिला भएका विद्यार्थीलाई पाठ्यक्रममा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्ट्याउने मौका विद्यालयले दिएको बताए । ‘सबै कुरा पुस्तकमा पढेर मात्र हँुदैन । व्यक्तिगत दक्षता र रुचीमा पनि भर पर्छ । गणित हाजिरीजवाफले विद्यार्थीका अन्तरनिहीन क्षमता बाहिर ल्याउन सघाउँछ,’ बरालले भने । मदरल्याण्ड माविमा विज्ञान र व्यवस्थापन तर्फ ११ र १२ कक्षामा अध्यापन हुन्छ ।




