
पोखरा,
प्रारम्भिक बाल विकास (ECD) को गुणस्तर सुधार, शिक्षकको क्षमता अभिवृद्धि र व्यवहारिक पाठ्यक्रम कार्यान्वयनका विषयमा केन्द्रित प्यानल छलफलमा सहभागी वक्ताहरूले तीनै तहका सरकार, पाठ्यक्रम निर्माता, विज्ञ तथा विद्यालयबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत उच्च शिक्षा महाशाखाका प्रमुख प्रकाश देवकोटा ले प्रारम्भिक बालशिक्षाको आधार बलियो बनाउन प्रदेश सरकार नीतिगत रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार सङ्घीय व्यवस्थाअनुसार प्रारम्भिक बालशिक्षाको प्रत्यक्ष जिम्मेवारी स्थानीय तहको भए पनि प्रदेश सरकारले नीतिगत समन्वय, शिक्षक तालिम तथा मापदण्ड निर्माणमा निरन्तर सहयोग गरिरहेको छ।
“गण्डकी प्रदेशका बाल विकास केन्द्रहरूको गुणस्तर सुधार गर्ने, बाल शिक्षकहरूको मनोबल उच्च बनाउने तथा स्थानीय तहसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार छ,” उहाँले भन्नुभयो। देवकोटाले शिक्षामा दीर्घकालीन सुधार हासिल गर्न प्रारम्भिक बाल विकासकै तहबाट परिवर्तन सुरु गर्नुपर्नेमा मन्त्रालय स्पष्ट रहेको पनि उल्लेख गर्नुभयो। यसैगरी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरे ले बाल विकासका लागि केन्द्रले एकीकृत पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै आएको जानकारी दिनुभयो।
उहाँले बालबालिकाको उमेर, रुचि र सिकाइ आवश्यकतालाई ध्यानमा राख्दै खेल, कला, स्थानीय परिवेश तथा स्थानीय सामग्रीमा आधारित पाठ्यक्रम विकास गरिएको बताउनुभयो। अबको प्रमुख चुनौती उक्त पाठ्यक्रमलाई स्थानीय भाषा, संस्कृति र परिवेशअनुकूल प्रभावकारी रूपमा कक्षाकोठामा कार्यान्वयन गर्नु रहेको उहाँको भनाइ थियो। घिमिरेले प्रारम्भिक बालशिक्षामा बालबालिकालाई अक्षर र अङ्क सिकाउन हतार गर्नुभन्दा उनीहरूको सामाजिक, भावनात्मक तथा शारीरिक विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। “पाठ्यक्रमले पनि यही दृष्टिकोणलाई आत्मसात् गरेको छ र शिक्षकहरूले त्यसअनुसार शिक्षण अभ्यास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।
सबै पक्षबीच सहकार्य अपरिहार्य
प्यानल छलफलको समापन गर्दै सहजकर्ता एलिना सुब्बा ले प्रारम्भिक बाल विकाससँग सम्बन्धित चुनौतीहरूको दीर्घकालीन समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै पाठ्यक्रम निर्माता, शिक्षाविद् तथा विद्यालयहरूबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले यस विषयमा थप ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो। सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी करिब साढे तीन सय शिक्षक तथा सरोकारवालाहरू ले प्यानल छलफललाई अत्यन्त सान्दर्भिक, उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका छन्।
कुमुदिनी होम्सका शिक्षक सुरेन्द्र सदिच्छा का अनुसार सम्मेलनको दोस्रो दिन सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी विषयगत छलफल, कार्ययोजना निर्माण तथा अनुभव आदानप्रदानका विविध कार्यक्रम सञ्चालन गरिनेछ। पहिलो दिनको कार्यक्रमको समापनमा रातो बङ्गला साझेदार कार्यक्रमकी संयोजक अर्चना जोशी ले सम्मेलन सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सहभागी, वक्ता तथा आयोजकप्रति आभार व्यक्त गर्नुभयो।
शिक्षा सुधारमा रातो बङ्गला फाउन्डेसनको निरन्तर योगदान
वि.सं. २०५९ सालमा ललितपुरमा स्थापना भएको रातो बङ्गला फाउन्डेसन ले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि दुई दशकभन्दा लामो समयदेखि निरन्तर काम गर्दै आएको छ। संस्थाले विशेषगरी शिक्षक क्षमता विकास, अभिभावक शिक्षा, शैक्षिक सामग्री सहयोग, विद्यालय पुनर्निर्माण तथा कक्षाकोठा व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
फाउन्डेसनले सन् २००३ मा राष्ट्रिय सम्मेलन तथा २०१३, २०१९ र २०२४ मा अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक आयोजना गरिसकेको छ। ती सम्मेलनहरूमा करिब दुई हजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद् को सहभागिता रहेको थियो भने तत्कालीन नेपाल सरकारको शिक्षा मन्त्रालयको समेत सहकार्य रहेको थियो।
यसअघि फाउन्डेसनले गत वर्ष बागमती प्रदेशको हेटौंडामा पहिलो प्रादेशिक सम्मेलन समेत सफलतापूर्वक सम्पन्न गरेको थियो। यस वर्षको सम्मेलनले प्रारम्भिक बाल विकासको गुणस्तरीय सुधार, व्यवहारिक पाठ्यक्रम कार्यान्वयन र सरकार तथा सरोकारवाला निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको आयोजकको विश्वास छ।






