नेपाल पत्रकार महासंघ कास्कीको स्वर्ण जयन्तीः वर्षभर नै विभिन्न कार्यक्रम गरी मनाइने

-


     पोखरा क्लिक     
     असार १२ गते २०८३ मा प्रकाशित


पोखरा, १२ असार,

नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ। नेपाल पत्रकार महासंघ, कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष माधव बराललेमहासंघ कास्की स्थापनाको ५० औँ वर्षमा प्रवेश गरेको अवसरमा वर्षभरि नै उत्सवका रुपमा विभिन्न गतिविधि गरिने बताए।

वि.सं. २०३४ साल असार १२ गते स्थापना भएको महांघ कास्कीले बुधबारदेखिस्वर्ण वर्षलाई विशेष बनाउन आधिकारिक लोगो समेत सार्वजनिक गरेको थियो । आधा शताब्दी लामो यात्राको स्मरण गर्दै अध्यक्ष बरालले निरंकुशताको समयदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म कास्कीको पत्रकारिताले देशको राजनीतिक र सामाजिक रूपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताए । उनले संस्थालाई यो उचाइसम्म पु¥याउन योगदान दिने संस्थापक, अग्रज र पूर्व नेतृत्वप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूको त्याग र निष्ठाले नै कास्कीको पत्रकारिताले देशभर छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे। यो यात्रामा पोखरेली जनता, विभिन्न संघसंस्था र स्थानीय सरकारको साथ र सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो।

वर्तमान समयमा पत्रकारिता क्षेत्रले भोगिरहेका चुनौतीहरूबारे चर्चा गर्दै अध्यक्ष बरालले प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण भ्रामक सूचनाको जोखिम बढेको बताए। उनले परम्परागत पत्रकारितामाथि गम्भीर प्रश्न उठिरहेको समयमा व्यावसायिकता र विश्वसनीयतालाई पुनर्जीवित गर्नु महासंघको मुख्य दायित्व भएको स्पष्ट पारे। सञ्चार क्षेत्रले सामना गरिरहेको आर्थिक संकट र श्रमको उचित मूल्यांकन नहुनु अर्को दुखद पक्ष रहेको उनको भनाइ थियो ।

यसैगरी, पछिल्लो समय सरकारले प्रेस स्वतन्त्रता र पत्रकारिताप्रति अनुदार नीति अपनाएको भन्दै उनले आपत्ति जनाए। सरकारी विज्ञापनलाई सरकारी मिडियामा मात्र प्रकाशन र प्रसारण गर्ने विभेदकारी निर्णयविरुद्ध महासंघ आन्दोलित रहेको र यो निर्णय नसच्चिएसम्म विरोध जारी रहने उनले सुनाए । उनले पत्रकारिताको गरिमालाई अझ उच्च बनाउन र सामाजिक उत्तरदायित्व पूरा गर्न सबैलाई थप जिम्मेवार बन्न उनको आग्रह थियो ।