
पोखरा, असार १२,
कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको चिन्ता व्यक्त गरिएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको सप्ताहव्यापी अभियानको समापनका अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा प्रशासनले लागुऔषध नियन्त्रणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका हुन्। “लागुऔषधको चुनौती चिनौँ स् सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा विभिन्न सरकारी–गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित अभियान प्रभातफेरीसहित सम्पन्न भएको हो।
मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृह परिसरमा पुगेर समापन कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारकर्मी, पुनःस्थापना केन्द्र, सामाजिक संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समापन समारोहलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक अभियान सकिए पनि लागुऔषधविरुद्धको प्रशासनिक तथा सामाजिक अभियान निरन्तर जारी रहने स्पष्ट पार्नुभयो। उहाँले लागुऔषध नियन्त्रणका लागि सामाजिक सचेतना, प्रभावकारी कानुनी कारबाही र पुनःस्थापनालाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले समाजमा बढ्दो विकृति र विसंगतिको अन्त्य सुरक्षा निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै घरपरिवार, विद्यालय, समुदाय, नागरिक समाज तथा सरोकारवाला सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। “सचेत समाज नै सुरक्षित भविष्यको आधार हो,” उहाँले भन्नुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले पछिल्लो समय मापसे मात्र नभई लागुऔषध सेवन गरेर सार्वजनिक सवारीसाधन चलाउने चालकसमेत भेटिन थालेको जानकारी दिँदै यसलाई अत्यन्तै गम्भीर र चिन्ताजनक प्रवृत्तिका रूपमा चित्रण गर्नुभयो।
उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा हालसम्म लागुऔषधसम्बन्धी १२० वटा मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५ वटा बढी हो। यस अवधिमा नौ जना विदेशी नागरिकसहित १८८ जनालाई पक्राउ गरिएको छ। विगत पाँच वर्षको तुलनामा यस आर्थिक वर्षमा सबैभन्दा धेरै लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। सप्ताहव्यापी अभियानकै क्रममा विभिन्न नाका तथा चेकजाँच स्थलबाट १९ जनालाई नियन्त्रणमा लिई तीन वटा मुद्दा दर्ता गरिएको एसपी कार्कीले जानकारी दिनुभयो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले लागुऔषध नियन्त्रणका लागि प्रहरी कारबाहीसँगै सामाजिक चेतना अभिवृद्धि र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। उहाँले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिबन्धित लागुऔषधजन्य औषधि बिक्री गर्ने एक फार्मेसी सञ्चालकलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
रिकभरी नेपाल कास्कीका शिव न्यौपानेले लागुऔषधको कुलतले शिक्षित युवाको भविष्य नै बर्बाद पार्ने गरेको उल्लेख गर्दै परिवारको एक सदस्य कुलतमा फस्दा सम्पूर्ण परिवारले पीडा भोग्नुपर्ने अवस्था आउने बताउनुभयो। कार्यक्रममा अभियान सफल बनाउन योगदान पुर्याउने सुरक्षाकर्मी, सञ्चारकर्मी, पुनःस्थापना केन्द्र तथा विभिन्न संघसंस्थालाई धन्यवाद दिँदै प्रशासनले आगामी दिनमा पनि लागुऔषधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।






