भारतीय सहित विदेशी पर्यटक पोखरा ३० को देउरालीखोलामा हुने रोपाई महोत्सवमा सहभागि हुने तयारी

-


     पोखरा क्लिक     
     असार १० गते २०८३ मा प्रकाशित


पोखरा, १०,असार,

पोखरा महानगरपालिका–३० स्थित देउरालीखोलामा आइतबार आयोजना हुने २१औँ असारे रोपाइँ महोत्सव–२०८३ मा भारतीयसहित विभिन्न देशका विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने भएको छ। कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे संस्कृति प्रत्यक्ष अनुभव गराउने तयारी गरिएको आयोजकले जनाएको छ।

पोखरा पर्यटन परिषद्ले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले यस वर्ष महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक बनाउने गरी तयारी गरिएको जानकारी दिए। उनका अनुसार विदेशी पर्यटकलाई हिलोमा रमाउने, धान रोपाइँमा सहभागी हुने तथा ग्रामीण जीवनशैलीको अनुभव गराउने विशेष कार्यक्रम राखिएको छ। ‘पोखरा सबै मौसमका लागि’ भन्ने अभियानलाई थप प्रभावकारी बनाउँदै कृषि र पर्यटनलाई जोड्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको सापकोटाले बताए। उनका अनुसार महोत्सवले स्थानीय उत्पादन, संस्कृति, परम्परा र जीवनशैलीको प्रवर्द्धनसँगै ग्रामीण पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिका वडा नं। ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले रोपाइँ महोत्सव कुनै एक संस्था वा समुदायको कार्यक्रम नभई सबैको साझा अभियान भएको बताए। उनले फेवातालजस्तै पोखराका अन्य प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा यस्ता महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कँडरियाले महोत्सवले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पार्ने बताए। कृषि र पर्यटनको संयोजनबाट स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ थियो। उनका अनुसार पोखरामा हाल करिब ३० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने करिब ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यस वर्षको महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन हिले फुटबल, पत्रकार हिले दौड, माछा समाउने प्रतियोगिता, धान रोपाइँ प्रतियोगिता, रस्साकसी, साउने प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको छ। साथै सांस्कृतिक प्रस्तुति, हिलो खेल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि आकर्षणका रूपमा रहनेछन्।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली तथा कृषि सञ्जाल पोखरा–३० का संयोजक बाबुराम ढकाललगायतले महोत्सवको सफलताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले असारे रोपाइँ महोत्सवले कृषि संस्कृतिको संरक्षण, ग्रामीण पर्यटनको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।