
पोखरा ,
पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नाे अवार्ड प्रदान गरिएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरबाट सात जना पत्रकारलाई शुक्रबार काठमाडौमा आयोजित समारोहमा नगद ५१ हजारसहित सो अवार्ड प्रदान गरिएको हो ।

पाल्पाको रिब्दीकोट ७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल पोखरामा रही दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । आदर्श समाजका कार्यकारी सम्पादक उनी राजधानी दैनिकका संवाददाता हुन् । सोही समारोहमा काठमाडौंमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार राशिको यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । रोटरी जर्नाे अवार्ड प्राप्त गर्नेहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौंकी उर्वसी बस्न्यात र बाँकेकी रूपा गहतराज पनि छन् ।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान, रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारलाई पुरस्कृत गरे । पत्रकारितामार्फत समाजमा सकारात्मक सिर्जना गर्ने पत्रकारलाई रोटरीले सन् २०११ देखि रोटरी जर्नाे अवार्ड प्रदान गर्दै आएको छ। रोटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानेर विभिन्न विधामा देशभरीबाट अनलाइन आवेदन माग गरेकोमा छनोट समितिले उत्कृष्ट पत्रकारको छनोट गरेको रोटरी जर्नाे अवार्ड कमिटी अध्यक्ष सुरेश आचार्यले जानकारी दिए। फरक फरक विधामा ५० पत्रकार २६७ समाचार सामग्री प्रतिस्पर्धामा रहेको उनले बताए ।जुरी प्यानल कोअर्डिनेटर वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारको क्षमता आधारमा निकै स्वच्छ र पारदर्शी ढंगले छनोट गरिएको बताए ।प्रमुख अतिथि गोल्यानले पुरस्कृत पत्रकारलाई बधाई दिँदै यसबाट अब्बल र मेहनति पत्रकारलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताए । उनले रोटरी एक इन्टरनेशनल संस्था भएको उल्लेख गर्दै समाजमा यसको कामबाट अहिले झन् पोजेटिभ सुनिन थालेको बताए ।
कार्यक्रमका अध्यक्ष डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले रोटरीले समाजिक सेवा सँगसँगै पत्रकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताए । रोटरीका १२ लाख सदस्य रहेको उल्लेख गर्दै समाजमा भोकेस्नल सर्भिसलाई विश्वास गर्ने उनको भनाइ थियो । उनले भने, रोटरीले पेसागत मर्यादालाई उच्च सम्मान गर्छ । रोटरीले स्वार्थभन्दा माथि उठेर श्रम, पैसा, समय र क्षमता समाजमा डोनेट गर्ने काम गर्छ ।






