
दीननाथ बराल,
पोखरा, १० असार
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको उन्नाइसौं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता अधिकारीले सो बजेट प्रस्तुत गर्नु भएको हो। यसअघि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा २ करोड ४७ लाख १९ हजार रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२र८३ मा गाउँपालिकाको बजेट ६७ करोड ९९ लाख ५१ हजार रुपैयाँ रहेको थियो। नयाँ बजेट अघिल्लो वर्षको तुलनामा करिब ३।६४ प्रतिशतले वृद्धि भएको देखिएको छ। आगामी वर्षका लागि विनियोजन गरिएको कुल बजेटमध्ये ४८ करोड ७७ लाख २४ हजार रुपैयाँ चालुतर्फ तथा २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ पुँजीगततर्फ छुट्याइएको छ। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको उपाध्यक्ष अधिकारीले बताउनु भयो।
क्षेत्रगत रूपमा हेर्दा सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ३३ करोड ९४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै पूर्वाधार विकासतर्फ १५ करोड ९५ लाख ९२ हजार रुपैयाँ, गाउँपालिका तथा मातहतका कार्यालय सञ्चालन र व्यवस्थापनतर्फ १२ करोड ८० लाख ३३ हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ४ करोड ६० लाख ६० हजार रुपैयाँ तथा आर्थिक विकासतर्फ ३ करोड १४ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, कर्मचारी तथा बालविकास सहजकर्ताको सेवा सुविधा व्यवस्थापन, प्राविधिक शिक्षामा छात्रवृत्ति तथा खेलकुद कार्यक्रमलाई निरन्तरता दिएको छ। बजेटको विशेष आकर्षणका रूपमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराउने कार्यक्रमलाई लिन सकिन्छ। यसका लागि गाउँपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। यसअघि संघीय सरकारको कार्यक्रम अन्तर्गत प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म मात्र दिवा खाजा उपलब्ध हुँदै आएको थियो।
स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्तरोन्नति, औषधि खरिद, विद्यालय स्वास्थ्य परीक्षण, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास, पाठेघर तथा स्तन क्यान्सर परीक्षण र उपचार कार्यक्रमलाई निरन्तरता दिइएको छ। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम बजेटमा समेटिएका छन्। कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यले आधुनिक कृषि प्रविधि, मौरीपालन, सिँचाइ पूर्वाधार, कृषि उत्पादन संकलन केन्द्र स्थापना, उन्नत बीउबिजन प्रवर्द्धन तथा पशु स्वास्थ्य सेवामा लगानी बढाइएको छ। यसैबीच गाउँपालिकाले पशुपक्षी आहारा उत्पादन उद्योग स्थापना गर्ने नयाँ कार्यक्रम अघि सारेको छ। प्रदेश सरकार तथा निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गरिने उक्त उद्योगका लागि आगामी वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमै पशु आहारा उत्पादन हुने, कृषकको लागत घट्ने तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रको विकासलाई समेत बजेटले प्राथमिकता दिएको छ। विभिन्न पदमार्ग निर्माण, पर्यटकीय पूर्वाधार विस्तार, पर्यटन उद्धार जनशक्ति उत्पादन, घले गुरुङ संग्रहालय निर्माण तथा पिपर पिजेन्ट कन्जरभेसन ल्याण्डस्केपको प्रवर्द्धनका कार्यक्रम समेटिएका छन्। खुमै, कोर्चाङ, तातोपानी, लम्पुसलगायत पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको पोखराक्लिकलाई बताउनु भयो। सीमित स्रोतसाधनका बाबजुद उत्पादन वृद्धि, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ४ करोड ६० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। बाँकी रकम संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने जनाएको छ। उपाध्यक्ष अधिकारीले प्रस्तुतः गर्नु भएको बजेटको पूर्णपाठ जस्ताको तस्तै ।





